
काठमाडौं । जेनजी आन्दोलनमा संलग्न जलवायु अभियन्ता टासी ल्हान्जोममाथि उठेका प्रश्न र आरोपको खण्डन गर्दै जेनजी अभियान्ताहरुले टासीको नागरिकता र वडाको सिफारिस सार्वजनिक गरेका छन् ।
आदिवासी जेनजी कलेक्टिभ र जेनजी मुभमेन्ट एलायन्सले उनका विषयमा भइरहेको बहसको बिरोध गरेका छन् ।
सामाजिक सञ्जालमा ल्हान्जोमलाई ‘नेपालीजस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित’ भन्दै विभिन्न टिप्पणीहरू गरिएको थियो । केहीले उनलाई मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुन्छ भन्नेजस्ता आरोपसमेत लगाएका थिए ।

यी आरोपलाई निराधार भन्दै दुबै संस्थाले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘टासी ल्हान्जोम नेपालको नागरिक हुन् । उनीमाथि लगाइएका आरोपहरू गलत र विभेदपूर्ण छन्।’
कलेक्टिभ र एलायन्सले आदिवासी समुदायलाई भाषा, संस्कृति र अनुहारका आधारमा शताब्दियौँदेखि बहिष्करण गर्दै आइएको आरोप लगाएका छन् । संविधानले समानता र समावेशीकरणको ग्यारेन्टी गरे पनि व्यवहारमा विभेद कायम रहेको र आदिवासी महिला तथा नागरिकहरूलाई दोहोरो अन्याय सहनु परेको उल्लेख छ ।
दुवै समूहले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक प्रचारको निन्दा गर्दै टासी र आदिवासी समुदायमाथि हुने विभेद अन्त्य गर्न सरकार र समाजलाई आह्वान गरेका छन् ।









प्रतिक्रिया