
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलको बसोबासका लागि ललितपुरमा घर भाडामा खोजेको छ। बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति, फर्म वा कम्पनीलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा गभर्नर पौडेलको ललितपुर, भैंसेपाटीस्थित निजी आवासमा आगजनी भएको थियो । त्यसअघि आन्दोलनकारीले उनको चितवनस्थित पुर्ख्यौली घरमा समेत तोडफोड गरेका थिए । गभर्नरको घरमा आगजनी भएसँगै राष्ट्र बैंकले सुरक्षित र आवश्यक सुविधा सम्पन्न घर भाडामा लिन प्रक्रिया अघि बढाएको हो।
सूचना अनुसार भाडामा लिनुपर्ने घर कम्तीमा १६ आना देखि अधिकतम २४ आनासम्मको जग्गामा बनेको हुनुपर्नेछ। पिलिन्थ क्षेत्रफल कम्तीमा १ हजार वर्गफुटको हुनुपर्ने र २.५ देखि ३ तलासम्मको संरचना आवश्यक रहनेछ । घरमा कम्तीमा चार बेडरुम हुनुपर्नेछ, जसमा एक मास्टर बेडरुम अनिवार्य छ। साथै लिभिङ हल, किचन, डाइनिङ हल, स्टोर रुमको व्यवस्था समेत हुनुपर्नेछ।
त्यस्तै, घरमा कम्तीमा ६ वटा कार वा जिप पार्क गर्न मिल्ने पर्याप्त पार्किङ हुनुपर्ने, सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्ड वालसहित कालोपत्रे सडकसँग सिधा जोडिएको हुनुपर्ने सूचनामा उल्लेख छ। विजुली, ढल निकास र खानेपानीको भरपर्दो व्यवस्था समेत अनिवार्य मानिनेछ।
इच्छुकले नेपाल राष्ट्र बैंकको सम्बन्धित विभागबाट आवश्यक कागजात प्राप्त गरी विवरण भरेर तोकिएको समयमा प्रस्ताव पेश गर्न सक्ने सूचनामा जनाइएको छ ।









प्रतिक्रिया