दशैंको शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले औंल्याए नयाँ पुस्ताको आकांक्षा समेट्ने राज्यव्यवस्था

175
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजयादशमीको अवसरमा सबै नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । असोज १२ गते एक सन्देश जारी गर्दै उनले दशैंलाई राष्ट्रिय एकता, परम्परा र शुभेच्छा आदानप्रदान गर्ने अवसरको रूपमा व्याख्या गर्दै देश र जनताको सर्वोत्तम हितका लागि नयाँ पुस्ताको आकांक्षालाई समेट्ने राज्य व्यवस्थाको आवश्यकता औंल्याएका छन् ।

‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ,’ उनले भनेका छन्, ‘विकसित बन्दै गएको आधुनिक प्रविधी र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नै पर्दछ । भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नु पर्दछ ।’

पूर्वराजाले नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको उल्लेख गर्दै भूराजनीतिक चक्रव्यूहमा नफसी देशले आफ्नो बाटो आफैं तय गर्नुपर्नेमा जोड दिए । उनले आधुनिक प्रविधि, वैज्ञानिक दक्षता र विश्व व्यवस्थामा भइरहेको परिवर्तनलाई आत्मसात् गर्ने तर आफ्नो मौलिक पहिचान र मूल्य मान्यतालाई नबिर्सन आग्रह गरे ।

‘युवा पुस्ता हाम्रा भविश्यका आधारस्तम्भ हुन् । उनीहरूमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउँछ,’ उनले भनेका छन् ।

देश यतिखेर चरम विध्वंस र शोकको अवस्थामा रहेको उल्लेख गर्दै उनले यसपालि टीका जमरा वृहत्तर रूपमा वितरण नगर्ने जानकारी समेत दिएका छन् । ‘अब बिगार्ने होइन, सपार्ने तर्फ हाम्रो कार्यक्रम अघि बढ्नु पर्छ,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।

पूर्वराजाले सबै नेपालीमा आशा, विश्वास र भरोसाका साथ नयाँ पुस्ता र नयाँ समय अगाडि बढोस् भन्ने शुभकामना व्यक्त गर्दै विजयादशमीको अवसरमा श्री नवदुर्गाभवानीले राष्ट्रलाई दिव्यपथतर्फ अग्रसर गरून् भन्ने कामना गरेका छन् ।

यस्तो छ, पूर्वराजाले जारी गरेको सन्देशः

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरु, हामी नेपालीहरुको राष्ट्रिय चाड विजया दशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर आँगनमा आएको छ। नवदुर्गा भवानीको पुजा आराधनाका साथ परम्परामा शुभेच्छा सद्भाव आदान प्रदान गरिने दशै पर्वको शुभ अवसरमा नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा हामी सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्दछौं ।

हाम्रा पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड हो । यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ । कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सामथ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ । हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो ।

हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जन मनो भावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ । विगतको केही समय यता देश र जनताको सर्वोत्तम हितका खाँतिर हामीले गहिरो चिन्ता, चासो तथा सङ्लो दृष्टिकोण अघि सार्दै आएको थियौं । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधी र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नै पर्दछ । भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नु पर्दछ । युग र काल अनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो आफ्नो पन, पहिचान र मुल्य मान्यताको ख्याल राख्नै पर्दछ ।

युवा पुस्ता हाम्रा भविश्यका आधारस्तम्भ हुन । उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ । यही समयको माग हो । हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परें । अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ । सही, सत्य, अग्रजहरुको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनै पर्दछ । जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् ।

यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारीक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं । हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं । श्री नवदुर्गाभवानीले हामीलाई दिव्यपथ तर्फ अग्रसर राखून् – यही हाम्रो कामना ।