३ सचिवको सरुवा: गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी

2.1k
Shares

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रक्षा, गृह र योजना आयोगका सचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

बैठकले रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । दंगाललाई जिम्मेवारी दिइएसँगै हालका गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरिएको छ ।

दुवाडीमाथि हालैको जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको भन्दै छानबिनको माग उठिरहेको थियो । त्यसअघि भिजिट भिसा प्रकरणमा उनको नाम मुछिए पनि उनी उन्मुक्ति पाएका थिए । आगामी मंसिर १० मा उनको ५ वर्षे कार्यकाल पूरा हुँदैछ र त्यसपछि उनी अनिवार्य अवकाशमा जानेछन् ।

यस्तै, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।