
सिरहा । सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले गाउँ त्रसित बनेको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा अभिषेक सिंह आइतबार राति ८ बजे घरबाट बेपत्ता भएका थिए । परिवारले रातभर खोजतलास गरे पनि उनी फेला परेनन् । सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलमार्फत आमाको मोबाइलमा अपहरण भएको र ५ करोड रुपैयाँ फिरौती मागिएको म्यासेज आएको प्रहरीले पुष्टि गरेको छ ।
मंगलबार बिहान गाउँनजिकै रहेको आँपको बगैंचामा अभिषेकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शव गाउँनजिकै भेटिएकाले सुरुवाती अनुसन्धानमै आफन्त वा छिमेक संलग्न हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।
यसै आधारमा प्रहरीले उनका आफन्त र छरछिमेकसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई सोधपुछ भइरहेको भए पनि अनुसन्धानलाई असर नपरोस् भनेर नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
घटनाले गाउँभरी त्रास फैलिएको छ भने स्थानीय बासिन्दाले अपराधमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् ।








प्रतिक्रिया