
काठमाडौं। पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड खुलाउने बिषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ सरोकारवाला निकायसँग आकस्मिक छलफल थालेका छन् ।
शुक्रबार साँझ साढे ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पटक पटक पहिरो खसेका कारण सवारी साधनहरु अलपत्र परेका छन् । करिब २१ घण्टादेखि अवरुद्ध रहेको उक्त सडक खण्डको पहिरो पन्छाएर सुचारु गर्न सडक विभाग सक्रिय भएपनि अहिलेसम्म बाटो खुलेको छैन ।
अवरुद्ध भएको उक्त बाटो खुलाउने बिषयमा मन्त्री घिसिङले सरोकारवाला निकायसँग छलफल थालेका हुन् । छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, मजदुर संगठनका प्रतिनिधीसहित गृहमन्त्रालयका प्रतिनिधीसमेत सहभागी छन् ।
छलफलमा सहभागी भएका यातायात व्यवसायीहरुले मनसुन सक्रियताका कारण देशभरका सडक अवरुद्ध भएकाले रातिकालिन समयमा गुड्ने सवारी साधनलाई दिनको समयमा मात्रै सञ्चालनमा ल्याउन माग अघि सारेका थिए ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले रातको समयमा पनि पहिरो गएका कारण रात्रि बसलाई दिउँसो चलाउन माग गरेका थिए । बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै उनले रातको समयमा चल्ने बसलाई दिउँसो चलाउन उपयुक्त हुने बताए ।
दसैँ तिहारका लागि यातायात व्यवस्थापन कसरी सहज बनाउने भन्ने विषयमा तत्काल आवश्यक उपाय खोज्न समेत उनले सरकारलाई आग्रह गरे ।
यस्तै महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुग्लिन, दाउन्ने, आँबुखैरेनी र चौकी डाँडाजस्ता प्रमुख सडक अवरुद्ध हुँदा सवारी आवागमन अस्तव्यस्त बनेको बताए । उनले परिस्थिति हेरेर अहिले दुई रतीन दिनका लागि मात्र टिकट बुकिङ खुला गरेको जानकारी दिए ।
बैठकमा मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वमा यातायात सहज बनाउने विषयमा भदौ २९ गते बसेको बैठकले निर्णय गरेको जानकारी दिँदै अहिले मौसमका कारण समस्या आएको बताए ।
यद्यपि तत्काल सडक यातायात सहज बनाउन मन्त्रालय र सडक विभाग तयार रहेको समेत उनले बताए ।
सचिव शर्माले भने, ‘अहिले पृथ्वी राजमार्ग र मुग्लिन खण्डको तुइन खोलामा रातिदेखि सडक रोकिएको हो । बिहान सुख्खा पहिरो खस्यो । जति गरे पनि झरिरहन्छ । सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मेसिन राखेको छ । विशेष परिस्थितिमा बाहेक ४ देखि ६ घण्टाभित्र सडक खुलाउन प्रयास गर्नेछौँ ।’








प्रतिक्रिया