
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ ।
शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो ।
उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ ।
शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । साँझ ६ः०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् ।
काठमाडौंबाट विभिन्न जिल्लाका लागि हिजो साँझमा छुटेका र विभिन्न जिल्लाबाट काठमाडौंका लागि छुटेका लामो दूरीका सार्वजनिक बसका साथै ढुवानी सवारी साधन, विरामी बोकेका एम्बुलेन्ससमेत ओहोर दोहोर गर्न नपाएरबीच बाटोमै अलपत्र परेका छन् । पहिरो गएका कारण दशैंमा घर जान चाहने हजारौं यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
उक्त सडक खण्ड अवरुद्ध भएको शनिबार साँझसम्म २४ घण्टा पुगेको छ । काठमाडौंबाट बाहिरिएका र विभिन्न जिल्लाबाट काठमाडौं आउँदै गरेका यात्रुहरु हिजैदेखि भोकभोकै असुरक्षित रुपमा सडकमा बस्न बाध्य भएका छन् ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।
पहिरो शनिबार बिहान १० बजेटसम्म हटाउन सकिएको छैन । सडक विभागका अनुसार पहिरो पन्छाउन डोजर परिचालन गरिए पनि अझै माथिबाट पहिरो गइरहेको छ । विभागले शनिबार दिउँसोसम्म पहिरो पन्छाउने गरी काम भइरहेको जनाएको छ ।
पटक पटक पहिरो
शुक्रबार साँझ साढे ६ बजेदेखि मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण अवरुद्ध भएको सडक शनिबारसम्म खुल्न सकेको छैन ।
करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको छ । शनिबार बिहान ७.४० मा पुन : सोहि स्थानमा ठुलो पहिरो खसेर करिब १६० मिटर लामो, १० मिटर चौडा र १६ मिटर उचाईमा पहिरो गएको छ ।
ढुंगा खस्ने क्रम निरन्तर भईरहेको हुँदा पहिरो हटाउनको लागि समस्या भएको छ । तथापी हाल ३ वटा लोडर र एउटा एक्साभेटर परिचालन गरि दुवै तर्फबाट पहिरो हटाउने कार्य सुचारू भईरहेको छ ।
साथै मुग्लिन तर्फबाट अर्को एउटा एक्साभेटर परिचालन गरी पहिरो पन्छाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।
पहिरो पन्छाउने काम आजलाई स्थगित
चौबीस घण्टा बितेपनि खुलेन पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक, सयौं बससहित भोकभोकै हजारौं यात्रुहरु अलपत्र
सडक विभागका अनुसार शनिबार दिनभर पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास गरेपनि सरकारी निकाय असफल भएका छन् ।
पछिल्लो समयमा पनि झरीका कारण केही मात्रामा स सानो पहिरो जाने क्रम यथावत रहेकाले र रातिको समय भएकाले सुरक्षालाई मध्यनजर गरी आइतबार बिहान ३ बजेसम्मको लागि पहिरो पन्छाउने कामलाई स्थगित गरिएको छ ।













प्रतिक्रिया