
धरान । कानुनले असार मसान्तभित्र अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि ढिलाइ हुँदै आएको धरान उपमहानगरपालिकाले अन्ततः चालु आर्थिक वर्ष २०८२/८३ का लागि बजेट पारित गरेको छ ।
बिहीबार बसेको कार्यपालिका बैठकले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले तय गरेको २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो । बैठकले असोज शनिबार बिहान ८ बजे धरान उपमहानगरपालिका परिसरमा १७ औं नगरसभा गर्ने निर्णय पनि गरेको छ ।
यसअघि भदौ २६ गते नगरसभा गर्ने तयारी भए पनि जेन–जी आन्दोलनका क्रममा धरानमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले नगरसभा अनिश्चित बनेको थियो ।
बैठकमा मेयर हर्क साम्पाङले बाँकी ९ वटा एजेन्डा प्रस्तुत गरेका थिए। जसअन्तर्गत नीति तथा कार्यक्रम संशोधन, राजस्व पुनरावलोकन, बसपार्क सञ्चालनसम्बन्धी प्रतिवेदन, सडक उपयोग सेवा शुल्कको ठेक्का, दररेट लगायतका प्रस्ताव पारित भएका छन् ।
त्यस्तै, विपद् कोषमा छुट्याइएको रकममध्ये १ करोड रुपैयाँ मिनि टिप्पर खरिदमार्फत फोहोर व्यवस्थापनमा खर्च गर्ने निर्णय गरिएको छ। साथै, भदौ २३ र २४ गतेको आन्दोलनमा शहादत प्राप्त गरेका धरान–५ आमटार चौरी निवासी साजन मेवाहाङ राईका दुई नाबालक छोराहरूको पठन–पाठन सहयोगार्थ उनीहरूको नाममा खाता खोली ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको छ ।
अराजक समूहले आगजनी गरेको धरान–१० स्थित पुतली लाइनको भाटभटेनी पसल नियन्त्रणमा दिनरात खटिएका नगरप्रहरीलाई पनि सम्मान गर्ने निर्णय गरिएको बैठकले जनाएको छ ।
संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले असार मसान्तभित्र बजेट पास गर्नुपर्ने प्रावधान छ। तर प्रस्तावित विनियोजन विधेयक समयमा पारित नहुँदा श्रावण १ गतेदेखि धरान उपमहानगरपालिकाको बजेट कानुनी रूपमा शून्य बनेको थियो। यस कारण करिब दुई महिनादेखि आर्थिक कारोबार ठप्प भएकोमा अब बजेट पारित भएपछि सञ्चालनमा आउने भएको छ।








प्रतिक्रिया