
काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनाललाई अन्तरिम मन्त्रिपरिषदमा अर्थमन्त्री बनाइने भएको छ । शुक्रबार बनेको नयाँ मन्त्रिपरिदमा अर्थविद् खनाललाई अर्थतन्त्रको बागडोर सम्हाल्न दिइने भएको हो ।
जेनजीको प्रदर्शन र त्यसपछिको घटनाक्रमपछि शुक्रबार सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले योग्य व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने योजनाअनुसार खनाललाई अर्थमन्त्री बनाउने प्रस्ताव गरिएको छ ।
‘साँझ साढे ७ बजेसम्ममा टुंगो लाग्छ,’ स्रोतले क्लिकमान्डुसँग भने ।
खनाललाई नागरिक समाजले पनि अर्थमन्त्रीका रूपमा योग्य मानेको छ । क्लिकमान्डुले हालै गरेको सर्वेक्षणमा पनि अधिकांशले खनाल नै अर्थमन्त्री बन्नुपर्ने मत आएको थियो ।
पूर्वअर्थसचिव रामेश्वर खनाल हालै उच्चस्तरीय आर्थिक सुधार आयोगको संयोजक रही आर्थिक उन्नती गर्न के कस्ता सुधारका काम गर्नुपर्छ ? भन्ने बारे सरकारलाई करिब ५०० सुझाव दिएका व्यक्ति हुन् । खनालको नैतिकता, बुद्धिमता र निर्णय लिने क्षमता अद्वितीय छ । अर्थसचिवका रुपमा उनले लिएका अडानले मुलुकलाई थप समस्यामा होमिन दिएन । खुला बजार अर्थतन्त्रको पक्षधर खनाल अर्थतन्त्रका विविध पाटाको राम्रो जानकार हुन् ।
खनाल अर्थसचिव गरेका केही सुधारात्मक काम नेपाली आर्थिक इतिहासकै महत्वपूर्ण उपलब्धि मानिन्छन् । वित्तीय अनुशासन, राजस्व संकलन, लगानी वातावरण र समग्र आर्थिक पारदर्शितामा गहिरो छाप छोड्ने काम गरे ।
कर प्रणालीलाई पारदर्शि बनाउन, कर छलि रोक्न, भ्याटलाई मजबुद बनाउन उनको भुमिका छ । खनाल सचिव हुँदा नै नक्कली भ्याट काण्ड उजागर गरि कानूनी दायरामा ल्याइएको थियो । सेयर लगानीकर्ताले सरकारमाथि दबाब सिर्जना गर्दा उनले ‘कारोबार नखोली वार्ता नगर्ने’ अडान लिएर बजार अनुशासन बढाए । अर्थसचिवका रुपमा राष्ट्र बैंकको सञ्चालक हुँदा केन्द्रीय बैंकलाई कर्तव्यबिमुख हुन नदिन अडान लिए । सरुवाका लागि राजनीति पहुँचको दुरुपयोग नगर्न प्रोत्साहन गरे । व्यक्तिगत लाभका लागि स्रोत–साधनको दुरुपयोग नगर्ने संस्कार बसाले । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले मन्त्रालयबाहिर बजेट बनाएको भन्दै खनालले २०६७ सालमा अर्थसचिव पदबाट राजीनामा दिए । मन्त्रीको खराब कामलाई हस् हजुर भन्दै बसेका भए खनाल मूख्यसचिवसम्म बन्न सक्थे । तर पदका लागि उने इमानदारीता बेचेनन् ।
खनाल अर्थतन्त्रका सिद्धान्त, व्यवहार, कर नीति, मौद्रिक नीतिका साथै नेपाली समाजलाई जरैदेखि बुझेका व्यक्ति हुन् ।
कार्की नेतृत्वको सरकारमा स्वतन्त्र र विज्ञलाई मन्त्री बनाउने बताइरहेको सन्दर्भमा स्वतन्त्र, निष्पक्ष र काविल व्यक्तिलाई ढुकुटीको जिम्मा लगाइएको हो । उनीसँग भएको क्षमताले देशको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन सक्ने सम्भावना प्रबल छ । एकातिर, उनको अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो छ भने अर्कातिर राष्ट्रिय पुँजीपतिहरुले पनि विज्ञका रुपमा उनको सम्मान गर्दै आएका छन् ।







प्रतिक्रिया