
काठमाडौं । जेनजीको प्रदर्शनको क्रममा ११ करोड रुपैयाँबराबरको क्षति व्यहोरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलीदेखि देशैभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ ।
जेनजी प्रदर्शनको क्रममा गत मंगलबार संस्थानअन्तर्गतको लाहान शाखा कार्यालयमा ११ करोड रुपैयाँबराबरको क्षति भएको थियो ।
संस्थानका सूचना अधिकारी माधव मिश्रका अनुसार प्रदर्शनको क्रममा लाहान शाखाबाट ८ सय १४ टन चामल, ३ सय २२ टन चिनी, ५ टन धान र ९८ हजार ८ सय १५ थान जुटको बोरा लुटिएको थियो । यसबाहेक भौतिक संरचना र गाडीमा समेत तोडफोड गरी आगजनी भएको थियो ।
यस्तो क्षति व्यहोरेको अवस्थामा पनि संस्थानले ५ रुपैयाँदेखि १० रुपैयाँ छुट दिएर दैनिक उपभोग्य बस्तु सुपथ मूल्य पसलमार्फत बिक्री गर्न लागेको छ ।
मिश्रका अनुसार पूर्व तयारी भएको गृहकार्यअनुसार तोकिएको स्थानमा छुटसहितको सुपथ मूल्य पसल सोमबारदेखि सञ्चालनमा आउन लागेको हो । यो पसल सोमबार बिहान १० वजेदेखि सञ्चालनमा आउने तयारी भएको उनले जानकारी दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाहेक साल्ट ट्रेडिङ कर्पोरेशनले पनि सोमबारदेखि उपत्यकासहित देशभरका अन्य स्थानमा यस्तै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले सञ्चालनमा ल्याउन लागेको यो सुपथ मूल्य पसल आगामी छठ पर्वसम्म सञ्चालनमा आउनेछ ।
भदौं ८ गते बसेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री स्तरीय बैठकले भदौं ३० गतेदेखि आगामी छठ पर्वसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियोे ।
सुपथ मूल्य पसलमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सबै प्रकारको चामल, गहँु दाना, चिनी, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ, चिउरा, पिठो, मैदा र आँटामा प्रतिकिलो ७ रुपैयाँ, जिरा, धनिया, चियापत्ती, जिउँदो खसी, बोका र च्याङग्राका प्रतिकिलो १० रुपैयाँ छुट मूल्यमा बिक्री गर्नेछ ।
यस्तै खानेतेलतर्फ तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेलमा प्रतिलिटर ७ रुपैयाँ तथा कर्णालीको सिमी तथा फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सी र बास्मती चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारले व्यवस्था गरेको छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले नुन र चिनीमा प्रतिकिलो २, तेल चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने व्यवस्था गरेको छ ।
खसीबोका बिक्री गर्ने बिषय अन्यौल
दशैंमा वर्षेनी बिक्री गर्दैआएको खसीबोका र च्याङ्ग्राको बिक्रीको बिषय भने यो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गौण राखेको छ ।
यसअघि अनलाइनबाट पनि खरिद गर्न सकिने भन्दै संस्थानले अनलाइन अग्रीम बुकिङ गर्ने सुविधासमेत खुलाएको थियो । यो वर्ष पहिलोपटक अनलाइनबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्न अग्रीम बुकिङ सुविधा खुलाइएको थियो ।
तर पछिल्लो समयमा जेनजीको आन्दोलन, तोडफोड र आगजनीका कारण संस्थानले ठूलो क्षति व्यहोर्न बाध्य भएकाले यो वर्ष खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने वा नगर्ने बिषय अन्यौलमा परेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयबाट प्राप्त हुने निर्देशनअनुसार यो बिषयमा आवश्यक प्रक्रिया अघि बढ्छ । हालसम्म मन्त्रालयबाट खसीबोका र च्याङ्ग्राको बिषयमा कुनै निर्देशन प्राप्त नभएकाले बिक्री गर्ने वा नगर्ने बिषयमा कुनै प्रक्रिया अघि बढ्न नसकेको उनले बताए ।
अनलाइन बुकिङ खुला भएको तेश्रो दिन अर्थात भदौं १९ गतेदेखि सरकारले सामाजिक सञ्जालमा रोक लगाएपछि यो अनलाइन बुकिङ सुविधासमेत प्रभावित भएको थियो ।
अनलाइन बुकिङ खुलेको दुइ दिनमा २० वटा खसीबोका बिक्रीको लागि अग्रीम अनलाइन बुकिङ भएको थियो । यो वर्ष संस्थानले २ हजारको संख्यामा खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य राखेको थियो ।
यस्ता स्थानमा सञ्चालन हुँदैछ सुपथ मूल्य पसल ?
साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौं उपत्यकाको कालिमाटी, सतुङल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल महाराजगञ्जमा सुपथ मूल्य पसलका साथै ३ वटा घुम्ती पसल सञ्चालन गर्नेछ ।
यस्तै उपत्यकाबाहिर धनगढी, कैलालीको टिकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी, डोटीको दिपायल, सुर्खेतको सुर्खेत, झापाको बिर्तामोड, मोरङको बिराटनगर, सप्तरीको राजविराज, सिराहाको लाहान, धनुषाको जनकपुुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायणगढ, नुवाकोटको त्रिशुलीमा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।
यसैगरी कास्कीको पोखरा, बाग्लुङको बाग्लुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङको दाङ र डडेलधुराको डडेलधुरामा यस्तो पसल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।
उता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । जसअनुसार झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुङगा, ललिलपुर, रसुवा, कास्की, तनहुँ, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, खोटाङ, सिराहा, धनुषा,पर्सा, काठमाडौं, दैलेख, डोल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, कालिकोट, हुम्ला, कैलाली र डडेलधुरामा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।
यस्तै बाजुरा, डोटी, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, कञ्चनपुर, अछाम र दार्चुलामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।







प्रतिक्रिया