
एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्जोनारोलाई सन् २०२२ मा भएको निर्वाचनको परिणाम उल्ट्याउन खोजेको र निर्वाचित राष्ट्रपतिको हत्या गर्न खोजेको अपराधका लागि २७ वर्षको कैद सजाय दिइएको छ ।
त्यहाँको सर्वोच्च अदालतको ५ न्यायाधीशको इजलासमा ४ जनाले बोल्जोनारोमाथि लागेका सबै अभियोगमा कसुरदार ठहर गरेको हो । त्यसका साथै उनलाई २७ वर्ष र तीन महिनाको कैद सजाय पनि सुनाइएको छ ।
बोल्जोनारोविरुद्ध कूको षड्यन्त्र गरेको, हतियारधारी आपराधिक संगठनमा सहभागी रहेको, ब्राजिलको लोकतान्त्रिक व्यवस्थालाई बलपूर्वक भंग गर्न खोजेको, राज्यका निकायविरुद्ध हिंस्रक कार्य गरेको र सार्वजनिक सम्पत्तिमा क्षति गरेको अपराधमा दोषी ठहर गरिएको हो । सन् २०२३ को जनवरी ८ मा उनका समर्थकहरूले सरकारी भवनमा पसेर तोडफोड गरी निर्वाचन परिणाम उल्ट्याउन खोजेका थिए ।
कूको षड्यन्त्र गर्ने क्रममा विस्फोटक पदार्थ, युद्धमा उपयोग हुने हतियार तथा विषमार्फत राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, उपराष्ट्रपति गेराल्डो आल्कमिन, सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे दे मोराएसलाई मार्ने योजना बनाइएको अभियोजनकर्ताहरूले आरोप लगाएका थिए ।
बोल्जोनारो र अन्य प्रतिवादीहरूले पुर्पक्षका क्रममा आफूहरूबाट कुनै आपराधिक काम नभएको जिकिर गरेका थिए ।
सन् २०२२ मा लुलासँग राष्ट्रपति चुनाव हारेपछि पनि सत्तामा बसिरहन खोजेको विषयलाई बोल्जोनारोको विरुद्ध प्रमाण मानिएको थियो । बोल्जोनारोलाई चुनावको परिणाम उल्ट्याउनका लागि योजना बनाएको विषयको सम्पूर्ण जानकारी रहेको संघीय प्रहरीको भनाइ थियो । उनले सेनालाई हस्तक्षेप गर्न र संकट व्यवस्थापन कार्यालय खोलेर समानान्तर सरकार चलाउन खोजेको आरोप पनि थियो ।








प्रतिक्रिया