
काठमाडौं । जेनजी आन्दोलनका कारण मंगलबारदेखि बजार ठप्प हुँदा अत्यावश्यक वस्तुहरुको खपत घटेको छ । खपत दर घटेका कारण बजारमा नयाँ माग आएको छैन ।
दशैंको मुखमै बजार अत्यधिक चलायमान हुनुपर्ने अवस्थामा बजार झन ठप्प हुँदा यसले सर्वसाधारणको आर्थिक अवस्थाका साथै मुलुककै अर्थतन्त्रमा ठूलो असर पार्न सक्ने अर्थविद्हरुको भनाई छ ।
नेपाली उद्योगी व्यवसायीहरुका लागि दशै, तिहार र छठ पर्वको अवधी चाँदी कटाईको समय भएर बर्षभर सुस्त भएको बजार यही वेला बुम हुने गर्छ । यो वेला देशभरको बजार चलायमान भएर मुलुकको कूल अर्थतन्त्रको करिब ३५ प्रतिशत रकम (दुई खर्बभन्दा बढी) बजारमा प्रभावित हुने गर्छ ।
त्यस्ता अत्यावश्यक वस्तुहरुको खपत दर पहिलेको तुलनामा अहिले १ प्रतिशत पनि नरहेको सरोकारवाला निकायहरुले औंल्याएका छन् ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार बजार बन्द भए पनि हरियो तरकारी विभिन्न तरिकाले काठमाडौं उपत्यकामा भित्रँदै आएको बताए ।
उनका अनुसार बिहानको समयमा सिन्धुली र नागढुङगामार्फत हरियो तरकारी आयात भइरहेको छ । तर उपत्यका अधिकांश खुद्रा पसलका साथै बजारहरु बन्द रहेका कारण भित्रिएको तरकारीको खपत भएको छैन ।
काठमाडौं उपत्यकामा दैनिक ७ सय मेट्रिक टन हरियो तरकारीको माग छ । तर पछिल्लो समयमा ३ सय मेट्रिक टन तरकारी पनि खपत हुन सकेको छैन ।
‘एक दुई घण्टा सञ्चालन भएपनि उपत्यकाभरको खुद्रा पसलहरु बन्द छन्, ती पसलेहरुले कालीमाटीबाट तरकारी लान पाएका छन्, होटेल रेष्टुरा तथा क्यान्टिनसमेत बन्द हुँदा खपत दर अत्यधिक घटेको हो,’ घिमिरेले भने, ‘खपत नहुँदा अहिले आएको ३ सय मेट्रिक टनबाट थोरै मात्रै बजारमा गएको छ ।’ खपत नै नभएपछि मूल्य वृद्धि हुने अवस्था नभएको उनको भनाई छ ।
पछिल्लो आन्दोलन र बजार बन्दका कारण सबैभन्दा बढी मार डेरी क्षेत्रमा परेको उद्योगीहरुले औंल्याएका छन् । नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालका अनुसार बन्दका कारण दूध उठाउनै कठिनाई भएको जानकारी दिए ।
मंगलबार र बुधबार गाउँ गाउँबाट काठमाडौं उपत्यकामा दूधको आपूर्ति हुन सकेको थिएन । डेरी क्षेत्र दूग्ध किसानको आग्रहमा नेपाली सेनाले अत्यावश्यक सेवामा दुग्ध ढुवानीलाई पनि समावेश गर्न आग्रह गरेपछि आजदेखि डेरी क्षेत्रलाई पनि समावेश गरी निश्चित समयभित्र ढुवानीको सुविधा उपलब्ध गराइएको छ ।
उपत्यकामा दैनिक करिब ५ लाख लिटर दूधको कारोबार हुन्छ । तर पछिल्लो समयको असहज अवस्थाका कारण दैनिक कारोबार हुने दूधमध्ये २० प्रतिशत पनि बिक्री नभएको दाहालले जानकारी दिए ।
पसल, होटेल, रेष्टुराँ, बैक, सरकारी तथा निजी कार्यालय, क्यान्टिनलगायतका सबै क्षेत्र बन्द भएका कारण दूधको खपत नभएको उनको भनाई छ ।
डीडीसीका निमित्त महाप्रवन्धक संजिवकुमार झाका अनुसार बन्द र आन्दोलनका कारण डीडीसीको बजार हिस्सासमेत घटेको छ ।
पसलहरु बन्द, ठूला सुपर मार्केट स्टोर भाटभटेनीका आगजनी र तोडफोड, बिगमार्ट, सेल्सबेरीजस्ता ठूलो बिक्रि केन्द्र बन्द हुँदा बजार हिस्सा घटेको उनको भनाई छ । खपत दर घटेर अहिले दैनिक १० हजार लिटर कम प्रशोधित दूध र अन्य दुग्धजन्य पदार्थ बजारमा गइरहेको छ । सामान्य समयमा डीडीसीले दैनिक ७० हजार लिटर दूध बजारमा पठाउँछ ।
यसका साथै बैंकहरु बन्द हुँदा कारखाना सञ्चालन गर्न आवश्यक पर्ने रकम बैंकबाट झिक्न नपाउँदा प्लान्ट सञ्चालनमा ल्याउन समेत समस्या परेको उनको भनाई छ ।
यसले गर्दा बक्यौता भुक्तानीका लागि आन्दोलन गर्दैआएका किसानहरुको भुक्तानी फेरी पनि रोकिने अवस्था सिर्जना भएको छ । आन्दोलरत दुग्ध किसान, निजी डेरी र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) बीच त्रिपक्षीय सम्झौता भएको थियो ।
यो सम्झौताअनुसार दूध किसानको असार मसान्तसम्मको बक्यौता रकम आगामी असोज ५ गतेभित्र र साउन मसान्तसम्मको बाँकी रकम असोज ३० गतेभित्र र भदौं मसान्तसम्मको रकम आगामी कात्तिक महिनासम्म भुक्तानी गरिने उल्लेख थियो ।
डीडीसीले १ अर्बभन्दा बढी र निजी क्षेत्रले अढाई अर्बभन्दा बढी गरि करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
‘बजार ठप्प भएर बिक्री नै नभएपछि सहमतिअनुसार किसानलाई तोकिएको समयमा किसानलाई भुक्तानी गर्न निक्कै कठिनाई भयो,’ संघका अध्यक्ष दाहालले भने,‘बजार चलायमान नहुँदासम्म किसानलाई भुक्तानी गर्न सक्ने अवस्था रहेन ।’
उनका अनुसार बजारमा खपत नहुँदा किसानबाट संकलन हुने दूधसमेत डेरी उद्योगको सबै स्टोरेज ट्यांकमा स्टक भएर बसेको छ । बजार अझै चलायमान नहुने हो भने शुक्रबारदेखि खपत हुन नसकेको दूध किसानहरुले सडकमा फाल्नुपर्ने अवस्था सिर्जना हुने उनले बताए ।
खपत नहुने दूधलाई पाउडर दूध र बटरमा परिणत गर्न सक्ने विकल्प भएपनि गत वर्षदेखि हालसम्म बढी भएको दूधलाई पाउडर र बटरमा परिणत गरि देशभरकै सरकारी र निजी क्षेत्रका उद्योगमा ठूलो परिमाणमा स्टक बसेको छ ।
बन्दका कारण कुखुराको मासुको बजारसमेत प्रभावित भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार देशभर दैनिक २४ करोड रुपैयाँबराबरको ८ लाख किलो कुखुराको मासुको कारोबार हुन्छ । उपत्यकामा मात्रै ५ लाख किलो कुखुराको मासु खपत भइरहेको छ ।
‘तर पछिल्लो समयमा देशभर १ प्रतिशत पनि कुखुराको मासुको खपत भएको छैन, उत्पादन भएका कुखुरा उद्योग र फार्म सेन्टरमा थन्किन थालेको छ,’ बिसीले भने,‘बजार बन्द भएर चलायमान हुन नसक्दा मासुको खपत नभएको हो । खपत नभएपछि गाउँगाउँबाट संकलन हुने काम पनि रोकिएको छ ।’
उता नेपाल खुद्रा व्यापार संघका अनुसार बजारमा अहिले कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव भएको छैन । बजार बन्दका कारण व्यवसायीहरुसँग भएको स्टक नसकिएका बजारमा कुनै पनि खाद्यान्नको अभाव नरहेको संघका महासचिव अमुलकाजी तुलाधरले जानकारी दिए ।
‘बजार चलायमान भए पो सामानको डिमाण्ड बढ्छ, डिमाण्डअनुसार सामानको आपूर्ति नहुँदा अभाव हुन्छ,’ तुलाधरले भने,‘तर अहिले उपभोग्य वस्तुको खपत नै भएको छैन । पसलहरु सबै बन्द छन् । बिहान लुकाई छिपाई केही पसल सञ्चालनमा आएपनि दैनिक उपभोग्य वस्तुको माग आएको छैन ।’
बन्द अवस्थाको फाइदा उठाउँदै थोक विक्रेताले भने मूल्य वृद्धि गर्न सक्ने जोखिम रहेको रहेको संघले यो विषयमा सबै पक्ष सचेत हुनुपर्ने जानकारी गराएको छ ।
पेट्रोलियमको बिक्री ठप्प
बजार बन्दका साथै यातायात क्षेत्रसमेत पूर्ण रुपमा ठप्प भएकाले पेट्रोलियम पदार्थको खपत दर निक्कै घटेको नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार यातायात क्षेत्र पूर्ण रुपमा ठप्प भएकाले पेट्रोल र डिजेलको खपत भएको छैन ।
‘खपत नहुँदा निगमका सबै डिपोमा पर्याप्त परिमाणमा इन्धन स्टक बसेको छ,’ प्रवक्ता ठाकुरले भने, ‘पेट्रोल पम्पहरुबाट पनि इन्धनको माग आएको छैन । अधिकांश पम्पहरुले सोमबारसम्म उठाएको इन्धन नै स्टक बसेको छ । ’ उपत्यकामा इन्धनको खपत अत्यधिक घटेपनि थानकोट डिपोमा ४०-४० ट्यांकर पेट्रोल र डिजेल भरेर तैनाथी अवस्थामा राखिएको निगमले जनाएको छ ।
अर्कोतर्फ बैंक बन्द हुँदा पनि बिक्रेताहरुले इन्धनको लोड लिन पाएका छैनन् । बिक्रेताहरुले बैंकमार्फत इन्धन खरिद गरेवापतको भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
खपत दर घट्दा देशभरमध्ये सबैभन्दा ठूलो दुई इन्धन डिपो अमलेखगञ्ज र थानकोटा डिपोको सेल्स दर पनि निक्कै तल पुगेको छ । अमलेखगञ्जस्थित डिपोका प्रमुख प्रलयंकर आचार्यका अनुसार पछिल्लो तीन दिनको अवधीमा बिहिबार मात्रै उक्त डिपोबाट इन्धनको कारोबार भएको छ ।
बिहिबार ४५० किलोलिटर पेट्रोल र ८ सय किलोलिटर डिजेल बिक्री भएको छ । बुधबार र मंगलबार भने सेल्स भएको थिएन । सामान्य समयमा यो डिपोबाट दैनिक ७ सय किलोलिटर पेट्रोल र ९ सय किलोलिटरको हाराहारीमा डिजेल बिक्री हुन्छ ।
यस्तै थानकोट डिपोका प्रमुख जगदिशचन्द्र यादवका अनुसार थानकोट डिपोको सेल्स दर निक्कै घटेको छ । यो डिपोले दैनिक ८०० सय किलोलिटर पेट्रोल र ७ सय किलोलिटर डिजेल बिक्री गर्दैआएकोमा बुधबार १०६ किलोलिटर पेट्रोल र ४७ किलोलिटर डिजेल बिक्री गरेको छ ।
मंगलबार यो डिपोबाट खासै इन्धनको बिक्री भएको थिएन । आजको कारोबारको विवरण साँझसम्म मात्रै आउनेछ ।
अधिकांश सार्वजनिक सवारी साधन र ढुवानी साधनमा डिजेलको खपत हुन्छ । सार्वजनिक सवारी साधन र ढुवानीको साधन नचलेका कारण पनि डिजेलको खपत अत्यधिक घटेको डिपो प्रमुख यादवको भनाई छ ।







प्रतिक्रिया