
एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतवार राजीनामा दिएको घोषणा गरेका छन् ।
दुईवटा प्रमुख निर्वाचनमा उनको दल पराजित भएपछि कार्यकालको एक वर्ष पनि नपुग्दै उनले राजीनामा दिएका हुन् ।
लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आन्तरिक मतदान गरेर इशिबालाई हटाउने तयारी गरेपछि उनी स्वयंले राजीनामा दिएका हुन् ।
एलडीपीले जापानमा लगभग सात दशक शासन गरेको छ । तर, इशिबाको नेतृत्वमा उक्त दलले १५ वर्षमा पहिलोपटक तल्लो सदनमा बहुमत गुमाएको थियो । त्यस्तै गत जुलाई महिनामा भएको निर्वाचनमा उक्त दल माथिल्लो सदनमा पनि हारेको थियो ।
जापान संसारको चौथो ठूलो अर्थतन्त्र हो । अहिले चीनसँगको तनाव चर्किएको र क्षेत्रीय असुरक्षा बढेको स्थितिमा जापानमा राजनीतिक अस्थिरता छ ।
इशिबाले राजीनामाको मागलाई बेवास्ता गर्दै आएका थिए । अमेरिकासँगको व्यापार तनाव हल गरेपछि मात्र राजीनामा दिने भनी उनले अड्डी कस्दै आएका थिए ।
इशिबाको उत्तराधिकारी को हुने भनी निश्चित छैन । सनाए ताकाइची, शिनजिरो कोइजुमी, योशिमासा हायासी, योशिहिको नोदा र युइचिरो तामाकीको नामको चर्चा चलिरहेको छ ।








प्रतिक्रिया