साउनमा बैंकको बिजनेश: निक्षेप ५२ अर्ब र कर्जा ११ अर्बले घट्यो, एभरेष्ट र ग्लोबल आक्रामक

2.8k
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा पनि व्यवसाय (कर्जा) बढाउनमा एभरेष्ट र ग्लोबल आईएमई बैंक आक्रमक देखिएका छन् ।

गत असारको तुलनामा साउनमा वाणिज्य बैंकहरूको कर्जा १० अर्ब ८६ करोड रुपैयाँले घटेको छ । तर, एभरेष्ट र ग्लोबल आईएमई बैंकले भने पहिलो महिनामा नै कर्जा आक्रमक रुपमा बढाउन लागेको देखिन्छ ।

सञ्चालनमा रहेका २० मध्ये साउनमा १० बैंककको कर्जा गत असारको तुलनामा घटेको छ भने १० बैंकले बढाएका छन् ।

सबैभन्दा धेरै कर्जा बढाउनेमा एभरेष्ट बैंक देखिन्छ । बैंकले साउनमा मात्रै कर्जा ५ अर्ब ६४ करोड रुपैयाँले बढाएर २ खर्ब २९ अर्ब ३० करोड रुपैयाँ पुर्‍याएको छ ।

गत आर्थिक वर्षमा पनि करिब २० प्रतिशतले कर्जा बढाएको एभरेष्टले चालु आर्थिक वर्षको पहिलो महिनामा नै २ प्रतिशतभन्दा धेरैले बढाए बढाएको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले पनि साउनमा ४ अर्बले कर्जा बढाएको छ ।

गत आर्थिक वर्षमा ४८ अर्ब रुपैयाँले कर्जा घटाएको एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा नै ८ अर्ब ६८ करोडले घटाएको नेपाल बैंकर्स संघको तथ्यांक छ ।

हिमालयन बैंकको कर्जा ३ करोड ५० लाख रुपैयाँले घट्दा राष्ट्रिय वाणिज्य बैंकको कर्जा साउनमा ३ अर्ब १७ करोड रुपैयाँले घटेको हो ।

कृषि विकास बैंकको २ अर्ब ६७ करोड, नबिल बैंकको २ अर्ब ८ करोड र कुमारी बैंकको कर्जा २ अर्ब ५ करोड रुपैयाँले घटेको छ ।

५५ अर्बले निक्षेप घट्दा ५ बैंकले बढाए

साउनमा गत असारको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप ५२ अर्ब २२ करोड रुपैयाँले घटेको छ । अधिक तरलता भएर लगानी हुन नसकेको अवस्थामा सिडि रेसियो ८० देखि ७० प्रतिशतको बिचमा रहेका केही बैंकले सीडी रेसियो घटाउन पनि निक्षेप घटाउन उपायमा लागेका छन् । केही बैंकले भने व्यवसाय बढाउन रणनीति अनुसार नै निक्षेप बढाइरहेका अवस्था छ ।

कर्जा विस्तार मात्रै नभएर निक्षेप बढाउनमा पनि ग्लोबल आईएमई बैंक अगाडि देखिन्छ । बैंकले निक्षेप ७ अर्ब ९६ करोड रुपैयाँले बढाएर ५ खर्ब ८३ अर्ब १ करोड पुर्याउँदा नबिल बैंकले ४ अर्ब ७६ करोड रुपैयाँले बढाएर ५ खर्ब ३७ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै हिमालयन बैंकले निक्षेप ४ अर्ब ६७ करोडले बढाएर ३ खर्ब १७ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको हो ।
यस्तै नेपाल एसविआई बैंकको निक्षेप १ अर्ब ७ करोड रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप १ अर्ब ९८ करोड रुपैयाँले बढेको छ ।

यता सिद्धार्थ बैंकको निक्षेप सर्वाधिक १७ अर्ब ४४ करोड रुपैयाँले घट्दा कुमारी बैंकको १६ अर्ब ३१ करोड रुपैयाँले घटेको छ । यस्तै नेपाल बैंकको निक्षेप ६ अर्ब ९८ करोड रुपैयाँ र प्रभु बैंकको निक्षेप ६ अर्ब ८१ करोड रुपैयाँले घटेको छ ।