
एजेन्सी । चीनको थ्यानचिन शहरमा आयोजना भइरहेको शाङ्हाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आइतवार चीन पुगेका छन् ।
चीन र रुसको नेतृत्वमा रहेको क्षेत्रीय सुरक्षा संगठन एससीओले अमेरिकाको एकध्रुवीय प्रभुत्वको विरुद्ध विश्व शक्तिलाई आफ्नो पक्षमा पार्न खोजिरहेको छ ।
थ्यानचिन पुगेका पुटिनलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । थ्यानचिनका शीर्ष अधिकारीहरूले उनलाई न्यानो स्वागत गरेका थिए ।
पुटिन लगभग एक हप्ता चीनमा रहनेछन् । उनले आफ्ना निकट साझेदार चीनका राष्ट्रपति सी चिनपिङसँग छलफल गर्नेछन् र दोस्रो विश्वयुद्धमा जापानमाथि भएको विजयको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित परेडमा भाग लिनेछन् ।
उक्त समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, उत्तर कोरियाका सर्वोच्च नेता कि जोङ उनका साथै इरान र क्युबाका नेताहरू पनि उपस्थित हुनेछन् ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि पुटिनले व्यापार तथा राजनीतिक समर्थनका लागि चीनसँग सम्बन्ध बढाएका छन् । चीन र रुसले त्यही वर्ष सीमारहित साझेदारीको घोषणा गरेका थिए ।








प्रतिक्रिया