लेबननमा हेज्बोल्लाहमाथि इजरायलको आक्रमण, यमनमा प्रधानमन्त्रीको हत्या

2.3k
Shares

एजेन्सी । इजरायली सेनाले लेबननको दक्षिणी भागमा रहेको हेज्बोल्लाहका विभिन्न तारोहरूमा हवाई आक्रमण गरेको छ ।

द टाइम्स अप इजरायलमा प्रकाशित समाचारमा उल्लेख भएअनुसार, इजरायलको वायुसेनाले हेज्बोल्लाहको सैन्य संरचनामा आक्रमण गरेको हो । हेज्बोल्लाहको गतिविधि भइरहेको भूमिगत संरचनालाई पनि तारो बनाइएको हो ।

उत्तरी इजरायलमा रहेको मानिसले उक्त आक्रमणको आवाज सुनेको बताए ।

लेबनन सरकारले हेज्बोल्लाहलाई निःशस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेलगत्तै इजरायलको आक्रमण भएको हो ।

दशकौंदेखि दक्षिणी लेबननमा नियन्त्रण कायम गर्दै आएको हेज्बोल्लाहले आफ्ना हतियारहरू नछोड्ने प्रतिज्ञा गरेको छ ।

अघिल्लो नोभेम्बर महिनामा इजरायल र हेज्बोल्लाहबीच युद्धविराम भएपछि इजरायली सैनिकहरू दक्षिणी लेबननका विभिन्न स्थानमा तैनाथ भएका छन् । हेज्बोल्लाहले युद्धविरामको उल्लंघन गरेकाले आक्रमण गरिएको इजरायल डिफेन्स फोर्सेसको भनाइ छ ।

गत बिहीवार इजरायलले गरेको हवाई आक्रमणमा यमनको राजधानी सनामा रहेका प्रधानमन्त्रीको मृत्यु भएको हूतीहरूले पुष्टि गरेका छन् ।

प्रधानमन्त्री अहमद गालेब नासेर अल–रहावी र मन्त्रीहरूलाई इजरायलले हवाई आक्रमण गरी हत्या गरेको हो ।

उक्त आक्रमणमा अन्य यमनी अधिकारीहरू घाइते भएका छन् । उनीहरूको उपचार चलिरहेको छ ।

रहावीको मृत्युपछि उपप्रधानमन्त्री मोहम्मद अहमद मिफ्तालाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएका हूतीहरूले घोषणा गरेका छन् ।