
विराटनगर । युवायुवतीलाई रोजगारीका लागि विदेश जानबाट रोक्न र उनीहरूलाई उद्योग–व्यवसायमा रुपान्तरण गर्न उद्योग संगठन मोरङले स्टार्टअपको इकोसिस्टमलाई थप प्रभावकारी बनाउन विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्क (वेन) को औपचारिक शुभारम्भ गरेको छ।
वेन कार्यक्रमलाई सफल पार्न कोशी प्रदेश सरकारले उद्योग संगठनसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, हाल उद्योग संगठनको मेन्टरसिपमा रहेका प्रारम्भिक चरणका विभिन्न ९ स्टार्टअपलाई सहयोग गर्ने यहाँका उद्योगी–व्यवसायीले पनि प्रतिबद्धता जनाउँदै उनीहरूलाई उत्साहित गरेका छन् ।
नवप्रवर्तनलाई प्रोत्साहन गरी व्यवसायिक रुपान्तरणमा सहयोग पुर्याउन र स्टार्टअपको इकोसिस्टम विकास गर्ने उद्देश्यले संगठनले सञ्चालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई थप प्रभावकारी बनाउन विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्क (वेन) सुरु गरिएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा सुरु गरिएको उक्त कार्यक्रममा संगठन अन्तर्गत हाल मेन्टरसिपमा रहेका ट्रयाकअन नेपाल, साइबर अलर्ट नेपाल, सिसा, सोल्भी, आरा टेक्नोलोजी प्रा.लि., कुखुरी काँ, पल्स, आरती फ्लावर, अपेक्स बायोटेक एण्ड एग्रोफोरेष्ट्री रिसर्च सेन्टर प्रा.लि. गरी ९ वटा स्टार्टअपले आ–आफ्नो स्टार्टअपको पिचिङ गरी लगानीका लागि आह्वान गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपालमै पहिलो पटक प्रारम्भ गरिएको यस कार्यक्रमलाई थप टेवा पुर्याउन कोशी प्रदेश सरकारले हातेमालो गर्ने प्रतिबद्धता जनाए। उनले कार्यक्रमको निरन्तरताका लागि आगामी दिनमा प्रदेश सरकारले गर्न सक्ने सहयोग र समन्वयका सम्बन्धमा एक महिनाभित्र प्रस्ताव तयार गरी छलफल गर्नेगरी तयारी गर्न अनुरोध गरे।
उनले कोशीका युवायुवतीलाई रोजगारीका लागि विदेश जानबाट रोक्न र उनीहरूलाई स्वदेशमै स्वरोजगार र उद्यमशील बनाउन प्रदेश सरकार उद्योग संगठनसँग सहकार्य गर्न तयार रहेको बताए।
कार्यक्रममा आफ्ना उद्देश्य सार्वजनिक गर्ने विभिन्न ९ स्टार्टअपलाई सरकारले हाल सञ्चालन गरिरहेको कार्यक्रमहरूमा कसरी आवद्ध गर्न सकिन्छ भन्ने विषयमा प्रदेश मन्त्रालयका सचिवहरू राखी छलफल गर्ने बताए ।
प्रदेश सरकारले सबै मन्त्रालयका सबै सवारी साधनमा ट्र्याकिङ सिस्टम राख्ने गरी यस वर्ष नीति तथा कार्यक्रम ल्याएको र नेटवर्क विस्तारका लागि संगठन अन्तर्गतको ट्रयाकअन नेपाल नामक स्टार्टअपलाई सम्बन्धित मन्त्रालयसँग जोडी सहयोग गर्ने जनाए । निजी क्षेत्रका तर्फबाट नवप्रवर्तनको विकासका लागि यस प्रकारको कार्यक्रम ल्याउनु प्रशंसनीय भएको बताउँदै उनले नवउद्यमशीलता विकासका सन्दर्भमा प्रदेश सरकारका तर्फबाट सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले विगत पाँच वर्षदेखि स्टार्टअपहरूसँग कार्य गर्दा सबैभन्दा ठूलो चुनौती वित्तीय स्रोतको अभाव रहेको बताउँदै, त्यसको पूर्ति गर्दै दीर्घकालीन सहयोग पुर्याउने उद्देश्यले सम्भावित लगानीकर्ताहरूलाई एकीकृत गर्दै एन्जल इन्भेष्टर्स नेटवर्क नामक गैरनाफामूलक संस्था स्थापना गरिएको बताए ।
उनले उक्त नेटवर्कले लगानीयोग्य परियोजनाहरू छनोट गरी लगानीकर्तासमक्ष प्रस्तुत गर्नुका साथै लगानीको खोजीमा रहेका स्टार्टअपहरूलाई लगानीका अवसर प्रदान गरी स्टार्टअपहरूका लागि वित्तीय पहुँचको अवसर र लगानीकर्ताहरूका लागि नयाँ व्यवसायमा लगानी गर्ने उपयुक्त वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे ।
विशेषगरी युवाहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस कार्यक्रमले उद्यमशीलताको यात्रामा व्यवसायिक सेवा, वित्तीय तथा अन्य लगानी स्रोतहरूमा पहुँच विस्तार गर्दै नयाँ व्यवसायको सिर्जना र त्यसको दीगो विकासमा उत्प्रेरकको भूमिका निर्वाह गर्ने राठीको भनाइ थियो ।
उनले स्टार्टअपहरूको व्यवसायिक विकासमा सहयोग पुर्याउन र नेपाल सरकारको स्टार्टअपलाई प्रवर्द्धन गर्ने नीतिलाई बढावा दिन कोशी प्रदेशमै पहिलो पटक संगठनको सचिवालयमा व्यवसाय प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको र उक्त केन्द्रले व्यवसायिक विकासका लागि आवश्यक सम्पूर्ण सेवा एउटै स्थानबाट प्रदान गरी वन–स्टप सपोर्ट सिस्टमको रूपमा काम गर्ने स्पष्ट पारे ।
संगठनका पूर्वअध्यक्ष तथा विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्क (वेन) का संयोजक सुयश प्याकुरेलले ५ वर्षअघि उद्योग संगठनमा स्टार्टअप कार्यक्रम प्रारम्भ गर्दा यसको भविष्यप्रति चिन्ता भएको भए पनि सहयोगी हातहरू बढ्दै गएको कारण छोटो समयमा सय स्टार्टअप आइडिया सफलतापूर्वक इन्क्युबेट भएकोमा खुशी व्यक्त गरे ।
उनले सानो स्तरका, विशेषतः पहिलो पुस्ताका स्टार्टअपलाई लगानी जुटाउन गाह्रो हुने भएकाले, वेनमार्फत यस्तो सम्भावना बोकेका आइडियालाई फन्डिङ गर्ने जानकारी दिए।
उनले स्टार्टअपको व्यवसायिक विकासलाई मध्यनजर गरी यो कार्यक्रम संगठनले प्रारम्भ गरेको भए पनि अबका दिनमा प्रदेश सरकारको स्वामित्वमा लैजानुपर्ने आवश्यकता औंल्याए ।
वेनलाई प्रदेश सरकारको आधिकारिक उद्यमशीलता साझेदारको रूपमा मान्यता दिन, स्टार्टअप दर्ता प्रक्रियाका लागि सरल नीति बनाउन, एन्जल लगानीमा कर छुट प्रोत्साहनको पहल गर्न, व्यवसाय प्रवर्द्धन केन्द्र र नवप्रवर्तनमा सहयोग पुर्याउन, वेनसँग सहकार्य गर्दै बीउ पूँजी कोष स्थापना गर्न, प्रदेश सरकारका तर्फबाट सम्पर्क व्यक्ति तोक्न र आर्थिक समितिमा वेनका प्रतिनिधि समावेश गर्ने प्रतिबद्धताका लागि मुख्यमन्त्रीसमक्ष उनले अनुरोध गरे।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु थपलियाले विश्वविद्यालयले यस कार्यक्रमलाई थप प्रोत्साहन गर्न सहकार्य गर्न तयार रहेको बताए । उनले नवउद्यमीको विकास गर्नु विश्वविद्यालयको समेत जिम्मेवारी भएकाले यस प्रकारको कार्यक्रम बढावा दिन सबैको हातेमालो आवश्यक रहेको औंल्याए।
स्विस कन्ट्याक्ट सहज परियोजनाका म्यानेजर ब्रजेश मल्लले नवप्रवर्तनको संस्कृति निर्माण गर्ने अभियानमा परियोजनाको सदैव सहयोग रहने बताउँदै, युवालाई प्रदेशमै अवसर प्रदान गर्न यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रस्तुतीकरण गर्ने ट्रयाकअन नेपाल र कुखुरी काँलाई प्रतिक राउत, साइबर अलर्ट नेपाललाई सुजित झा, सिसालाई महेश जाजु, सोल्भीलाई भोलेश्वर दुलाल, आरा टेक्नोलोजी प्रा.लिलाई सुयश प्याकुरेल, आरती फ्लावरलाई किरण व्यास, अपेक्स बायोटेक एण्ड एग्रोफोरेष्ट्री रिसर्च सेन्टर प्रा.लिलाई सुरेन्द्र गोल्छा लगायतका एन्जल इन्भेष्टर्सले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
उद्यमशीलता विकासको दीगो इकोसिस्टम निर्माण गर्ने र कोशी प्रदेशलाई नवीन उद्यमशीलताको विकासको हब बनाउने अभिप्रायका साथ स्थापना गरिएको विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्कलाई स्विस कन्ट्याक्ट सहज परियोजना र इन्भेष्टमेन्ट इन्फ्राको प्राविधिक सहयोग रहेको संगठनका महाप्रबन्धक चुडामणी भट्टराईले जनाए ।







प्रतिक्रिया