
एजेन्सी । गत दुई दशकमा चीनप्रति अमेरिकाको दृष्टिकोण आर्थिक सहकार्यबाट स्पष्ट शत्रुतातर्फ विकसित भएको छ । अमेरिकी सञ्चारमाध्यम र राजनीतिज्ञहरूले लगातार चीनविरुद्ध भाषणबाजी गरेका छन् ।
अमेरिकी सरकारले चीनमाथि व्यापारिक प्रतिबन्ध र प्रतिबन्धहरू लगाएको छ र चिनियाँ भूमि नजिकसम्म सैन्य उपस्थितिलाई विस्तार गरेको छ । वाशिङ्टन मानिसहरूलाई चीन खतरा हो भन्ने कुरा विश्वास गराउन चाहन्छ ।
चीनको उदयले वास्तवमै अमेरिकी हितलाई चुनौती दिन्छ । तर यो चुनौती अमेरिकी राजनीतिक अभिजातवर्ग(एलिट) ले भनेको जस्तो भने होइन ।
अमेरिका–चीनको सम्बन्धलाई पुँजीवादी विश्व प्रणालीको सन्दर्भमा बुझ्नुपर्छ । तथाकथित ‘ग्लोबल नर्थ’ भनिने मूल राष्ट्रहरू पुँजी सञ्चय, सस्तो श्रम र सस्तो स्रोतमा निर्भर हुन्छ, जुन परिधि र अर्ध-परिधि भनिने ‘ग्लोबल साउथ’ बाट आउँछ ।
यो व्यवस्था बहुराष्ट्रिय कम्पनीहरूका लागि उच्च नाफा सुनिश्चित गर्न अत्यावश्यक छ, जसले विश्व आपूर्ति श्रृंखलामा वर्चस्व जमाएका छन् । मूल र परिधिबीचको प्रणालीगत मूल्य असमानताले अन्तर्राष्ट्रिय व्यापारमा असमान विनिमयमार्फत मूल देशहरूले परिधिबाट ठूलो मात्रामा मूल्य आत्मसात गर्न सक्षम बनाउँछ ।
१९८० को दशकदेखि जब चीन पश्चिमी लगानी र व्यापारका लागि खुला भएको थियो, यो व्यवस्थाको एक महत्त्वपूर्ण अंश बन्यो । यसले पश्चिमी कम्पनीहरूलाई सस्तो मात्र नभई अत्यन्तै दक्ष र उत्पादनशील श्रम उपलब्ध गरायो । उदाहरणका लागि एप्पलको उत्पादनको ठूलो अंश चिनियाँ श्रममा निर्भर छ । अर्थशास्त्री डोनाल्ड ए क्लेलेन्डको अनुसन्धानअनुसार यदि एप्पलले चिनियाँ र पूर्वी एशियाली कामदारलाई अमेरिकी कामदारको दरमा तलब तिर्नु परेको भए २०११ मा हरेक आइप्याडमा थप ५७२ डलर खर्च हुने थियो ।
तर गत दुई दशकमा चीनमा तलब नाटकीय रूपमा बढेको छ । सन् २००५ तिर चीनको निर्माण क्षेत्रमा श्रम लागत प्रतिघण्टा भारतभन्दा कम, एक डलरभन्दा पनि कम थियो । त्यसयता चीनको प्रतिघण्टा श्रम लागत ८ डलरभन्दा बढी भएको छ । जबकि भारतमा अहिले करिब २ डलर मात्रै छ । वास्तवमा, चीनमा तलब अहिले एशियाका सबै विकासोन्मुख मुलुकभन्दा बढी छ । यो एक ऐतिहासिक घटना हो ।
चीनमा बढ्दो तलबले त्यहाँ सञ्चालन गर्ने वा चिनियाँ उत्पादनमा भर पर्ने पश्चिमी कम्पनीहरूको नाफामा प्रत्यक्ष असर पार्छ
यसको केही प्रमुख कारण छन् । पहिलो, चीनमा बाँकी रहेको श्रमशक्ति क्रमशः ज्यालादारी अर्थतन्त्रमा समाहित हुँदै गएको छ । जसले कामदारहरूको बार्गेनिङ शक्ति बढाएको छ । त्यही समयमा राष्ट्रपति सी चिनफिङको नेतृत्वमा हालको सरकारले चीनको अर्थतन्त्रमा राज्यको भूमिकालाई विस्तार गरेको छ । सार्वजनिक स्वास्थ्य सेवा र सार्वजनिक आवासजस्ता सार्वजनिक सुविधा प्रणाली सुदृढ पारिएका छन्, जसले कामदारहरूको स्थितिलाई थप सुदृढ बनाएको छ ।
यी परिवर्तनहरू चीनका लागि विशेषगरी चिनियाँ कामदारहरूको लागि सकारात्मक भए पनि पश्चिमी पुँजीका लागि गम्भीर समस्या हुन् । चीनमा बढ्दो तलबले त्यहाँ सञ्चालन गर्ने वा चिनियाँ उत्पादनमा भर पर्ने पश्चिमी कम्पनीहरूको नाफामा प्रत्यक्ष असर पार्छ ।
मूल राष्ट्रहरूको अर्को समस्या भनेको चीनमा बढ्दो तलब र मूल्यका कारण असमान विनिमयप्रति चीनको निर्भरता घट्नु हो । १९९० को दशकको कम तलबको समयमा, मूलसँगको चीनको निर्यात–आयात अनुपात अत्यन्तै उच्च थियो । अर्थात्, आवश्यक आयात पाउन चीनले धेरै ठूलो मात्रामा वस्तु निर्यात गर्नुपर्थ्यो । आज यो अनुपात निकै कम भएको छ । यसले चीनको व्यापार सर्तहरूमा उल्लेखनीय सुधार ल्याएको छ, जसले मूल राष्ट्रहरूको चीनबाट मूल्य आत्मसात गर्ने क्षमतालाई ठूलो मात्रामा घटाएको छ ।
यी सबैका कारण अमेरिकासहितका पश्चिमा पुँजीपति अब फेरि सस्तो श्रम र स्रोतमा पहुँच पाउन आतुर छन् । एउटा विकल्प भनेको उत्पादनलाई एशियाका अरू सस्तो श्रम भएका भागमा सार्नु हो, जुन पश्चिमी व्यापारिक सञ्चारमाध्यममा बढ्दो रूपमा प्रचार भइरहेको छ । तर यो उत्पादन गुमाउनु, नयाँ कामदार फेला पार्नु र आपूर्ति श्रृंखला अव्यवस्था जस्ता कारणले महँगो पर्छ।
अर्को विकल्प भनेको चीनको तलब फेरि घटाउनु हो । यही कारणले अमेरिकाले चीन सरकारलाई कमजोर पार्ने र चिनियाँ अर्थतन्त्रलाई अस्थिर बनाउने प्रयास गरिरहेको छ । जसमा आर्थिक युद्ध र सैन्य तनावको स्थायी खतरा पनि पर्छ ।
विडम्बना के छ भने, पश्चिमी सरकारहरूले कहिलेकाहीँ चीनका निर्यातहरू अत्यधिक सस्ता छन् भनेर पनि चीनको विरोध गर्छन् । आफ्नो मुद्रा रेनमिन्बी (युआन)को विनिमय दर कृत्रिम रूपमा कम राखेर चीनले अन्तर्राष्ट्रिय व्यापारमा ‘धोका’ दिने गरेको उनीहरूको दाबी छ । तर चीनले करिब एक दशकअघि नै यो नीति छोडिसकेको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अर्थशास्त्री जोसे एन्टोनियो ओक्याम्पोले २०१७ मा भनेका थिए, ‘हालका वर्षहरूमा, चीनले बरु रेनमिन्बीको अवमूल्यन रोक्न प्रयास गर्दै ठूलो मात्रामा सञ्चिति खर्च गरेको छ । यसले संकेत गर्छ कि यदि केही छ भने, यो मुद्रा अहिले अत्यधिक मूल्याङ्कन भएको हुन सक्छ ।’
चीनले अन्ततः २०१९ मा अवमूल्यनको अनुमति दियो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा लगाइएका शुल्कहरूले रेनमिन्बीमा दबाब बढाएको थियो । तर यो त बजार अवस्थाको परिवर्तनको सामान्य प्रतिक्रिया थियो, न कि रेनमिन्बीलाई कृत्रिम रूपमा कम राख्ने प्रयास ।
अमेरिकाले चीनको मुद्रा अवमूल्यन भएको अवधिमा चीन सरकारलाई ठूलो मात्रामा समर्थन गर्यो । जसमा आईएमएफ र विश्व बैंकका ऋणसमेत थिए । पश्चिमले चीनको मूल्य बढ्न थालेको र सस्तो इनपुट आपूर्तिकर्ता हुने अवस्थाबाट बाहिर निस्कन थालेको २०१० को दशकको मध्यतिर स्पष्ट रूपमा मोड फेर्यो ।
अमेरिकी शत्रुताको दोस्रो कारण भनेको प्रविधि हो । गत दशकमा, बेइजिङले औद्योगिक नीतिमार्फत रणनीतिक क्षेत्रमा प्रविधिक विकासलाई प्राथमिकता दिएको छ र उल्लेखनीय प्रगति हासिल गरेको छ ।
अहिले चीनसँग विश्वकै सबैभन्दा ठूलो उच्चगतिको रेल सञ्जाल छ । आफ्नै व्यावसायिक विमान उत्पादन गर्छ, नवीकरणीय ऊर्जा प्रविधि र विद्युतीय गाडीमा अग्रणी छ । उन्नत चिकित्सकीय प्रविधि, स्मार्टफोन प्रविधि, माइक्रोचिप उत्पादन, कृत्रिम बुद्धिमत्ता आदि क्षेत्रमा पनि चीन अग्रपंक्तिमा छ ।
चीनबाट आउने प्रविधि सम्बन्धी समाचारहरू चक्कर लाग्दो छन् । यी उपलब्धिहरू हामीले प्रायः उच्च–आय भएका मुलुकहरूबाट मात्रै अपेक्षा गर्ने गर्छौं र चीनले यो औसत ‘उन्नत अर्थतन्त्र’ को जीडीपी प्रतिव्यक्ति भन्दा झण्डै ८० प्रतिशत कम आयको अवस्थामा हासिल गरेको छ । यो अभूतपूर्व हो ।
अमेरिकाले चीनको प्रविधिक विकासलाई नष्ट गर्ने उद्देश्यले प्रतिबन्धहरू लगाएको छ । अहिलेसम्म यो सफल भएको छैन
यो मूल राष्ट्रहरूको लागि समस्या हो किनभने साम्राज्यवादी व्यवस्थाका मुख्य आधारमध्ये एक भनेको पुँजीगत वस्तु, औषधि, कम्प्युटर, विमान आदि जस्ता आवश्यक प्रविधिमाथि तिनीहरूले एकाधिकार कायम राख्नु हो । यसले ‘ग्लोबल साउथ’ लाई निर्भर अवस्थामै राख्छ । जसका कारण उनीहरूले यी आवश्यक प्रविधिहरू प्राप्त गर्न आफ्ना सस्ता स्रोतहरूको ठूलो मात्रामा निर्यात गर्न बाध्य हुन्छन् । यही हो जसले असमान विनिमयमार्फत मूलको शुद्ध आत्मसातलाई कायम राख्छ ।
चीनको प्रविधिक विकासले अब पश्चिमी एकाधिकार तोड्दैछ र अरू विकासोन्मुख मुलुकहरूलाई आवश्यक वस्तुहरूका लागि किफायती वैकल्पिक आपूर्तिकर्ता दिन सक्छ । यसले साम्राज्यवादी व्यवस्था र असमान विनिमयलाई मौलिक रूपमा चुनौती दिन्छ ।
अमेरिकाले चीनको प्रविधिक विकासलाई नष्ट गर्ने उद्देश्यले प्रतिबन्धहरू लगाएको छ । अहिलेसम्म यो सफल भएको छैन । बरु, यसले चीनलाई स्वदेशी प्रविधिक क्षमता विकास गर्न थप प्रेरणा दिएको छ । यो हतियार धेरै हदसम्म निष्क्रिय भएपछि अमेरिका युद्धको धम्कीमा उत्रिन चाहन्छ । यसको मुख्य उद्देश्य चीनको औद्योगिक आधार ध्वस्त पार्नु र चीनको लगानी पुँजी र उत्पादन क्षमता रक्षा क्षेत्रमा मोड्नु हो । अमेरिका चीनसँग युद्धमा जान चाहन्छ । यो अमेरिकी जनतालाई कुनै प्रकारको सैन्य खतरा भएकाले भने होइन । चिनियाँ विकासले साम्राज्यवादी पुँजीका हितहरूलाई कमजोर पारेकोले अमेरिका चीनसँग युद्धमा जान चाहन्छ।
तर, चीन कुनै प्रकारको सैन्य खतरा हो भन्ने कुरा पूर्णतः पश्चिमको प्रचारबाजी हो । भौतिक तथ्यहरू भने एकदम फरक कथा भन्छन् । वास्तवमा, चीनको जनसङ्ख्याप्रति सैनिक खर्च विश्व औसतभन्दा कम छ र अमेरिका मात्रको भन्दा दशौं भाग मात्र हो । हो, चीनको जनसङ्ख्या ठूलो छ तर कुल रकमको हिसाबले पनि अमेरिका–साझेदार सैन्य गठबन्धनले चीनको भन्दा सात गुणा बढी खर्च गर्छ । अमेरिकाले चीनको तुलनामा हरेक एउटा परमाणु हतियारको बदलामा आठवटा परमाणु हतियार नियन्त्रण गर्छ ।
चीन, अमेरिकाले आफ्नो इच्छा थोपर्न नदिने शक्ति हुन सक्छ । तर बाँकी संसारमा आफ्नो इच्छा थोपर्ने शक्ति मूल राष्ट्रहरूजस्तो छैन । चीनले कुनै प्रकारको सैन्य खतरा पोषित गरेको छ भन्ने कथा अत्यन्तै बढाइचढाइ गरिएको हो ।
वास्तवमा, यो उल्टो सत्य हो । अमेरिकाका सयौँ सैन्य आधार र सुविधाहरू विश्वभर छन् । तीमध्ये ठूलो संख्यामा जापान र दक्षिण कोरिया, चीनको नजिक छन् । यसको विपरीत चीनसँग विदेशमा जम्मा एउटा मात्र सैन्य आधार जिबुटीमा छ । अमेरिकी सीमासम्म नजिक कुनै सैन्य आधार छैन ।
थप भन्नुपर्दा, चीनले पछिल्ला ४० वर्षमा अन्तर्राष्ट्रिय युद्धमा एकपटक पनि गोली चलाएको छैन । जबकि यस अवधिमा अमेरिकाले दर्जनभन्दा बढी ‘ग्लोबल साउथ’ मुलुकहरूमा आक्रमण, बमबारी वा शासन परिवर्तनका अभियान चलाएको छ । यदि कुनै राष्ट्र विश्व शान्ति र सुरक्षाका लागि खतरा हो भने, त्यो अमेरिका हो ।
चीनले सम्प्रभु विकास हासिल गरिरहेको छ र यसले पश्चिमी पुँजी सञ्चय निर्भर साम्राज्यवादी व्यवस्थालाई कमजोर पारिरहँदा पश्चिमी युद्धउन्मादको वास्तविक कारण बनेको छ । विश्व आर्थिक शक्ति आफ्नो हातबाट सजिलै निस्किन पश्चिमले दिने छैन ।
(जेसन हिकल र डिलन सुलिभनले अलजजिराका लागि लेखेको लेखको अनुवाद ।)







प्रतिक्रिया