
काठमाडौं । वाफिया संशोधन विधेयकका प्रस्तावित व्यवस्था र दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिको लागि छलफल गर्न भन्दै गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैंकहरूका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूलाई छुट्टाछुट्टै बोलएका छन् ।
मंगलबार सबै वाणिज्य बैंकका सीईओहरूसँग छलफल गर्न लागेका गभर्नर पौडेलले बुधबार बैंक सञ्चालक समितिका अध्यक्षहरूसँग छलफल गर्न लागेका हुन् ।
गभर्नर कार्यलयले नै छलफल आयोजना गरेको हो । केन्द्रीय बैंकले ३ वटा एजेण्डामा केन्द्रित भएर बैंकका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षहरूसँग छलफल गर्न लागेको हो ।
पहिलो एजेण्डा चालु आर्थिक वर्ष २०८२/८३ को लागि जारी मौद्रिक नीतिमाथि छलफल हुने केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै दोस्रो एजेण्डामा वित्तीय क्षेत्र विकास रणनीतिको विषय राखिएको छ ।
यस्तै प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा छलफल भइरहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) को प्रस्तावित परिमार्जनको विषयमा पनि छलफल हुने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिका सचिव तथा गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारीको हस्ताक्षरमा पत्र काट्दै बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई बोलाइएको हो ।
विशेष गरी वाफिया विधेयकमा बैंकर र व्यवसायी छुट्याउनेगरी उल्लेख्य स्वामित्व २ प्रतिशतबाट १ प्रतिशत बनाउने र उल्लेख्य स्वामित्व हुनेले व्यवसायिक ऋण लिन नपाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
उक्त प्रस्तावमा गत जेठमा गभर्नर नियुक्त भएका डा. विश्वनाथ पौडेलले अर्थसमितिको छलफलमा केन्द्रीय बैंकको स्पस्ट धारण दिन सकेका छैनन् । उनले यसबारे थप छलफल गर्ने बताएका थिए ।
बैंकर व्यवसायी छुट्याउँदा पर्ने सकारात्मक र नकारात्मक प्रभाव र उक्त व्यवस्थाको आवश्यकता लगायत विषयमा उनले बैंकका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षसँग छलफल गर्न लागेका हुन् ।
बैंकर र व्यवसायी छुट्याउँदा दिनुपर्ने समय लगायतमा केन्द्रीय बैंकले आफ्नो धारण बनाउने गरी छलफल आयोजना गरेको हो।
मंगलबार साढे १ बजे काठमाडौंको मेरियट होटलमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्न लागेका गभर्नरले बुधबार साढे १ बजे नै वाणिज्य बैंकहरूका अध्यक्षलाई सोल्टी होटलमा बोलाएका छन् ।








प्रतिक्रिया