
काठमाडौं । नेपाल चीन सीमाको ल्हेन्दे खोलामा आएको बिनासकारी बाढीका कारण मितेरी पुल बगाए पछि चीनतर्फ केरुङमा अलपत्र परेका २०३ जना नेपाली नागरिकलाई बुधबार नेपाल फर्काइँदै छ ।
चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार बाढीका कारण मितेरी पुल बगेपछि चीनतर्फ अलपत्र परेको कन्टेनर चालक, सहचालक, नेपाली पर्यटक गरी २०३ जनालाई तातोपानी नाकाहुँदै बुधबार नेपाल फर्काइदैं छ ।
निरौलाका अनुसार अलपत्र परेका नेपालीमध्ये कतिपयसँग नेपाल फर्कने भाडा र खाना खर्च समेत छैन । यस्तो अवस्थामा चीनको सिजाङ्ग स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँग नियमित रुपमा सहकार्य गरिएको थियो । अलपत्र परेकालाई तातोपानी सीमा नाकासम्म पुर्याइने र त्यहाँबाट नेपाली पक्षले उनीहरुलाई सुरक्षित रुपमा नेपाल भित्र्याइने उनले जानकारी दिए ।
अलपत्र परेकालाई भने चीन सरकारले सुरक्षित बास र खानाको व्यवस्था गरेको थियो ।
यसैबीच नेपाली महावाणिज्यदूत निरौला र चीनको सिजाङ स्वायत्त क्षेत्रको अध्यागमन कार्यालयका महानिर्देशक तथा चिनिया कम्युनिष्ट पार्टीका सचिव वाङ सिहोङसँग मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताको क्रममा बाढीका कारण अलपत्र परेका नेपाली नागरिक र नेपालबाट चीनमा प्रवेश गरेका पर्यटकको उद्दार गरी तातोपानी नाकामार्फत नेपालतर्फ फर्काउने, कैलाश मानसरोवर यात्रा गर्ने पर्यटकलाई तातेपानी नाकाबाटै ओहोर दोहोर गर्ने व्यवस्था मिलाइएकोलगायतका बिषयमा छलफल भएको थियो ।








प्रतिक्रिया