
एजेन्सी । विश्वका ठूला प्रविधि कम्पनीहरूले धमाधम कर्मचारी कटौती गर्न थालेका छन् ।
कम्पनीको खर्च बढिरहेकोले त्यसलाई व्यवस्थापन गर्न र एआईमा जोड दिनका लागि यस्तो कटौती गरिएको हो ।
गत बिहीवार मात्र अमेजनले सयौं कर्मचारीलाई अमेजन वेब सर्भिसेसबाट निष्काशन गरेको छ । यसअघि अमेजनले पुस्तक व्यवसायमा पनि कर्मचारी कटौती गरेको थियो । गूडरीड्स र किन्डलबाट पनि कर्मचारी छँटनी भएका थिए ।
गत मे महिनामा अमेजनले वन्डरी पोडकास्ट डिभिजन, रिटेल स्टोर र कर्पोरेट कम्युनिकेशन्समा कर्मचारीहरू हटाएको थियो ।
एआई आएपछि कतिपय पदहरूको आवश्यकता नपरेको अमेजनका सीईओ एन्डी जस्सीले बताएका छन् ।
उता इन्टेल कम्पनीले अमेरिकामा रहेका ५५ सयभन्दा बढी कर्मचारीहरू कटौती गर्न खोजेको छ । त्यसको सबभन्दा बढी असर क्यालिफोर्निया र ओरेगनमा पर्ने बताइएको छ ।
सन् २०२४ मा इन्टेलले १५ हजारजनालाई कामबाट निष्काशन गरेको थियो ।
इन्टेलका सीईओ लिप–बु तानले संसारभरिका कार्यालयबाट कर्मचारी हटाउने तयारी चलिरहेको बताएका छन् । खर्च घटाउनका लागि यसो गरेको उनको भनाइ छ ।
माइक्रोसफ्टले पनि संसारभरिका कर्मचारीमध्ये ४ प्रतिशतलाई हटाउन लागेको छ । करिब ६ हजार कर्मचारीहरूलाई निकालिने भनी गत मे महिनामा माइक्रोसफ्टले पुष्टि गरेको थियो ।
सन् २०२४ को जुन महिनामा २ लाख २८ हजार कर्मचारी भएको माइक्रोसफ्टले व्यवस्थापकहरूको संख्या घटाउन खोजेको छ ।
उता टिकटकमा ईकमर्स शाखाका कर्मचारीहरूलाई हटाउने तयारी चलिरहेको छ । कम्पनीको संस्थागत तथा कर्मचारीतन्त्रमा परिवर्तन गरेर यसलाई थप प्रभावकारी बनाउन खोजिएको भनी टिकटकले कर्मचारीहरूलाई सूचना दिइसकेको छ ।
अमेरिकाको ईकमर्स बजारमा साढे १७ अर्ब डलर बराबरको व्यापार गर्ने लक्ष्य लिएको टिकटकले त्यो लक्ष्य हासिल गर्न नसकेपछि अमेरिकी कर्मचारीहरूलाई चिनियाँ कार्यकारीले विस्थापित गर्न खोजेको ब्लूमबर्ग सञ्चारमाध्यमले खबर दिएको छ ।








प्रतिक्रिया