आग्लागी हुँदा ५ लाखको कुखुरा नष्ट



रत्ननगर । चितवनको भरतपुर महानगरपालिका–२० स्थित धननाथ ढकालको कुखुराको खोरमा आज बिहान आगलागी भएको छ ।

आज बिहान ३ः३० बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदै खोरभित्र रहेका ५०० वटा कुखुराका चल्लासहित पाँच लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो क्रममा कुखुराका चल्ला ५०० वटा, दाना तीन बोरा, तोरी तीन बोरा, राज्मा एक बोरा, काठ तथा खोरलगायत गरेर पाँच लाखको क्षति अनुमान गरिएको प्रहरीले जनाएको छ ।

स्थानियको सहयोगमा प्रहरीले रातीनै आगो निभाएको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

आगोले जलेर गम्भीर

यता भरतपुरस्थित गौरीगञ्जमा आगोताप्ने क्रममा जलेर एक वृद्धा गम्भीर घाइते भएकी छिन् । स्थानीय ९१ वर्षीया नन्दकुमारी पौडेल आगोले जलेर गम्भीर भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार आफ्नै घर अगाडि जाडो छल्न आगो ताप्ने क्रममा पौडेललाई एक्कासि आगो सल्किएको थियो । उनको शरीरका विभिन्न भागमा आगोले जलेको छ । अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जाडोका कारण स्थानीय चितवनका विभिन्न क्षेत्रको चोक चौतारो र घर आँगनमा आगो बालेर ताप्ने गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले यसरी आगो ताप्दा ज्यान कै जोखिम हुने र आगलागीसमेत हुनसक्ने भएकाले सचेत हुन सबैमा आग्रह गरेका छन् । रासस


क्लिकमान्डु