‘बिजनेश टाइकुन’ले बनाइरहेको कुमारीपाटी स्क्वायरको लागत घट्यो

2.4k
Shares

काठमाडौं । देशका ठूला व्यापारिक घरानाले बनाउँदै गरेको कुमारीपाटी स्क्वायरको निर्माण लागत घटेको छ । अर्बन पेन्टागन कम्पनीमार्फत् साढे ४ अर्ब रुपैयाँ बराबरको लगानीमा आवासीय तथा व्यवसायिक अपार्टमेन्टको डिजाइनमा परिवर्तन गर्दा लागत घटेको हो ।

कम्पनीले सुरुमा ४ अर्ब ५६ करोड ७० लाख रुपैयाँ लागतमा कुमारीपाटी स्क्वायर बनाउने भनिएको थियो । तर, अहिले कम्पनीले डिजाइन परिवर्तन गर्दा लागत घटेर ४ अर्ब ३६ करोड १० लाख रुपैयाँमा निर्माण गर्ने जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ, बृहत् इन्भेष्टमेन्टका ओमराज भण्डारी, चाटर्ड एकाउन्टेन्ट नारायण बजाज, व्यवसायी ज्ञानेन्द्रलाल प्रधानलगायतको लगानीमा ललितपुरको व्यापारिक केन्द्र ‘कुमारीपाटी स्क्वायर’ आयोजना निर्माण कार्य अगाडि बढाएको छ ।

आयोजनामा कुमारी होल्डिङ प्रालिको ३५ प्रतिशत, आइएमई डेभलपर्सको १५ प्रतिशत र दिपक मल्होत्राको १५ प्रतिशत स्वामित्व छ । त्यसबाहेकका स्वामित्व अन्य व्यक्तिका छन् ।

अर्वन पेन्टागन प्रालिमा दर्ता भएको कम्पनीले सुरुमा १ अर्ब ७१ करोड ६० लाख रुपैयाँमा उद्योग दर्ता गरी लगानी प्रतिबद्धता जनाएको थियो । तर, कम्पनीले हालै आयोजना संशोधन गरेर आवासीय तथा व्यवसायिक मोडलको आयोजना निर्माण गर्ने भएको हो ।

कम्पनीले २ लाख २२ हजार ३२२ स्क्वारफिट क्षेत्रफलमा आवासीय तथा व्यवसायिक मोडलको आयोजना निर्माण गर्ने भनिएको थियो । अहिले २ लाख १९ हजार ५ सय ८० स्क्वायरफिटमा निर्माण गर्ने उल्लेख गरेको छ । जसमा कम्पनीले निर्माणको क्षेत्रफल घटाएको छ । कम्पनीले आगामी सन् २०२८ सम्ममा आयोजना सम्पन्न गर्ने योजना बनाएको छ ।

कम्पनीले आयोजना निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५५ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले उक्त क्षेत्रमा आवासीय र व्यवसायिक अपार्टमेन्ट निर्माण गरी बिक्री वितरण गर्ने भएको छ ।

सुरुमा कुमारीपाटीमा ९७ हजार ६९५ स्क्वायरफिटमा व्यवसायिक कम्प्लेक्स (१२० वटा रिटेल शप) निर्माण गर्ने योजना बनेको थियो । पछि त्यसमा संशोधन गर्दै कम्पनीले आवासीय तथा व्यवसायिक कम्प्लेक्स २ लाख २२ हजार ३२२ स्क्वारफिट क्षेत्रफलमा निर्माण गर्ने भएको थियो । तर अहिले केही मात्रामा क्षेत्रफल घटाएको छ। कम्पनीले ४८ प्रतिशत भाडाका लागि क्षेत्रफल र ५२ प्रतिशत अपार्टमेन्ट हुने जनाएको छ ।

कम्पनीले आवासीय र व्यवसायिक अपार्टमेन्ट निर्माणको लागि जग्गा अधिग्रहण गरिसकेको छ । कम्पनीकाअनुसार उक्त आयोजना नयाँ मोडलमा निर्माण हुने जनाएको छ । कम्पनीले लगानीमा अनुपात ६७:३०:३ राखेको छ ।