
एजेन्सी । अर्बपति इलोन मस्कले एआई च्याटबोट ग्रोकको बाल संस्करण सार्वजनिक गरेका छन् । यसलाई उनले बेबी ग्रोक नाम दिएका छन् ।
बालबालिकाका लागि प्रभावकारी एआई औजार बनाउनका लागि मस्कको एक्सएआई कम्पनीले प्रयास गरेको हो ।
बेबी ग्रोकको विस्तृत विवरण उपलब्ध छैन । तर, यो ग्रोकभन्दा बेग्लै हुने भनी मस्कले जोड दिएका छन् । बालबालिकालाई शिक्षा दिने उद्देश्यले यो बनाइएको बताइन्छ ।
ग्रोकले विगत केही समययता विभिन्न विवादको सामना गरेको छ । दक्षिण अफ्रिकामा गोरा मानिसको नरसंहार भइरहेको भन्ने आधारहीन कुरादेखि हिटलरको प्रशंसा गर्नेसम्मका काम गरेर ग्रोक विवादमा परेको हो ।
बेबी ग्रोकले उमेर सुहाउँदो, शैक्षिक र आकर्षक प्रतिक्रिया दिने बताइएको छ । यसले वयस्क वा संवेदनशील विषयलाई फिल्टर गरेर हटाउनेछ ।
यसमा भएका संवादहरू परिवारमैत्री किसिमको हुने बताइएको छ ।
यसमा अभिभावकीय नियन्त्रण कडा छ र यसको सुरक्षा फीचरले परिवारलाई मानसिक शान्ति दिनेछ ।
उता ग्रोक यापमा अनी नामक एआई अवतार राखिएको छ । खैरो कपाल भएकी एनिमे शैलीकी अनीले कुम देखिने कालो लुगा लगाएको देखिन्छ । घुँडामा माछाको जाली जस्तो टाइट लगाएकी एनीले सुस्त गतिमा यौन उत्तेजना बढाउने किसिमले बोलेको सुनिन्छ । यो वयस्क व्यक्तिहरूका लागि भर्चुअल साथीका रूपमा बनाइएको हो ।

अनीलाई जिस्केको शैलीमा बोल्ने र अर्धनग्न लुगा लगाउने देखाइएकोमा कतिपय प्रयोगकर्ताले आलोचना गरेका छन् ।
बालबालिकाले किड्स मोड उपयोग गरेर यस्तो च्याटबोटसँग अन्तर्क्रिया गर्न सक्ने भनी आलोचना गरिएको हो ।
मस्कले ग्रोक एआईलाई प्रतिस्पर्धीहरूभन्दा अब्बल बनाउनका लागि प्रयास गर्दै आएका छन् । ओपनएआईको च्याटजीपीटी, गूगलको जेमिनी र एन्थ्रोपिकको क्लाउडभन्दा ग्रोकलाई स्तरीय बनाउन मस्कको ध्याउन्न छ ।








प्रतिक्रिया