डिजिटल भुक्तानीमा भारत अग्रणी, मासिक १८ अर्ब कारोबार

56
Shares

एजेन्सी । द्रुत गतिमा हुने डिजिटल भुक्तानीमा भारत विश्वकै अग्रणी मुलुक भएको अन्तर्राष्ट्रिय मुद्रा कोषले घोषणा गरेको छ ।

कोषले हालै प्रकाशन गरेको टिपोट ‘ग्रोइङ रिटेल डिजिटल पेमेन्ट्स : द भ्याल्यु अफ इन्टरअपरेबिलिटी’मा यस्तो घोषणा गरिएको हो ।

युनिफाइड पेमेन्ट्स इन्टरपेस (यूपीआई) यस क्रान्तिको केन्द्रमा छ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाले सन् २०१६ मा सुरु गरेको यूपीआईले भारतमा मानिसलाई पैसा पठाउन र पाउन सहज बनाइदिएको छ ।

यसले व्यक्तिका सबै बैंक खाताहरूलाई एउटै मोबाइल यापमा ल्याइदिन्छ । यसमार्फत ग्राहकले तत्कालै पैसा पठाउन, क्यूआरमार्फत सामान किन्न र साथीभाइ इष्टमित्रलाई ब्यालेन्स पठाउन सक्छ । द्रुत गतिमा सजिलैसँग यसको उपयोग गर्न सकिने भएकाले यसप्रति भारतीयहरूको आकर्षण बढेको छ ।

यूपीआईबाट मासिक रूपमा १८ अर्बवटा कारोबार हुने गरेको छ ।

‘यसले भारतलाई नगद र डेबिट÷क्रेडिट कार्डमार्फत हुने भुक्तानीको साटो डिजिटल भुक्तानीलाई जोड दिएको छ । करोडौं मानिस र साना व्यापारीहरू सुरक्षित एवं कम खर्च लाग्ने कारोबारका लागि यूपीआईमा निर्भर छन् । छिटो भुक्तानी गराउने भएकाले यूपीआई वित्तीय समावेशिताको शक्तिशाली औजार बनेको छ,’ प्रेस इन्फर्मेशन ब्यूरोले जनाएको छ ।

जुन महिनामा मात्र यूपीआईले २४.०३ लाख करोड भारु बराबरको भुक्तानीका व्यवस्थापन गरेको थियो । कुल १८.३९ अर्ब कारोबारमा त्यति रकम भुक्तानी भएको हो । गत वर्षको तुलनामा यो ३२ प्रतिशतको वृद्धि हो ।

यूपीआई प्रणालीले ४९ करोड व्यक्ति तथा ६ करोड ६० लाख मर्चेन्टहरूलाई सेवा दिन्छ । यसले ६७५ वटा बैंकलाई एउटै प्ल्याटफर्ममा जोड्छ र मानिसलाई जुनसुकै बैंकबाट भए पनि सजिलै भुक्तानी गराउन सुविधा दिन्छ ।

भारतमा हुने सबै सबै डिजिटल भुक्तानीको ८५ प्रतिशत भाग यूपीआईले ओगटेको छ । भारत बाहिर नेपाल, भुटान, श्रीलंका, यूएई, सिंगापुर, फ्रान्स र मौरिससमा पनि यूपीआई चल्न थालेको छ । ती देशमा बस्ने वा त्यहाँ घुम्न जाने भारतीयहरूलाई सहजै कारोबार गर्न यसले सुविधा दिएको छ ।

भारतले ब्रिक्स समूहमा पनि यूपीआई भुक्तानीलाई मानक बनाउनका लागि पैरवी गरिरहेको छ ।