सेयर कारोबारबाट सरकारले पायो हालसम्मकै धेरै पुँजीगत लाभकर, नेप्सेले कमायो करिब २ अर्ब

336
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सेयर कारोबारबाट अहिलेसम्मकै उच्च पुँजीगत लाभकर प्राप्त गरेको छ । सिडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारको कारोबार रकमसँगै सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा पनि नयाँ रेकर्ड कायम भएको हो ।

अघिल्लो वर्षको तुलनामा कारोबार रकम करिब ३ गुणाले बढेर २१ खर्ब माथि पुग्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर पनि ३ गुणाले नै बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्रको कारोबार भएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ ।

सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकर पनि आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ५१ करोड रहेकोमा गत आर्थिक वर्षमा तेब्बर बनेर १६ अर्ब ५७ करोड पुगेको सिडीएससीको तथ्यांक छ ।

धितोपत्र कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढेको हो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै रकम (१४ खर्ब ५४ अर्ब ४४ करोड) को कारोबार भएको थियो । पुँजीगत लाभकर पनि सोही आर्थिक वर्षमा १४ अर्ब १३ करोड रुपैयाँ पुगेको थियो ।

नेप्से ३२ सय अंकमा पुगेको वर्षलाई पनि गत आवले जितेको हो ।

आर्थिक वर्ष २०७९/८० मा कारोबार ४ खर्ब ६७ अर्ब १३ करोडमा सिमित हुँदा पुँजीगत लाभकर २ अर्ब ९७ करोडमा सिमित भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा १२ खर्ब २ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार हुँदा १० अर्ब ३५ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोडको सेयर कारोबार हुँदा ५ अर्ब ५१ करोड राजस्व प्राप्त भएको थियो ।

सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

सेयर बजारको कारोबार रकममा आइरहने उतारचढावका कारण पुँजीगत लाभकरमा असर पर्ने गर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने गर्छ ।

आर्थिक वर्ष २०७७/७८ मा बजार परिसूचक बढेसँगै बजार पुँजीकरण बढेर २०७८ असार मसान्तमा ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँको बजार पुँजीकरण पुगेको थियो । २०७७ असार मसान्तमा १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको बजार पुँजीकरण एक वर्षमा नै नेप्से सुचकांकसँगै उच्च वृद्धि भयो । सोही आर्थिक वर्षमा पुँजीगत लाभकर पनि उच्च संकलन भएको देखिन्छ ।

२०७७ असार मसान्तमा १३६२.३५ अंमा रहेको नेप्से सुचकांक २८८३.४१ को बिन्दुमा पुग्यो । २०७८ भदौमा अझै माथि ३१९९ अंकसम्म पुगेको नेप्से सुचकांक त्यसपछि घट्दै गयो । सुचकांक घट्दै जाँदा बजार पुँजीकरण र कारोबार समेत घटेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा बजार पुँजीकरण घटेर २८ खर्ब ६९ अर्ब ३४ करोडमा झर्यो । २०७९ असारमा नेप्से सुचकांक २००९.४९ अंका झर्यो भने उक्त वर्ष कारोबारसँगै पुँजीगत लाभकर पनि घटेको थियो । तर, गत आर्थिक वर्षमा नेप्से सुचकमा देखिएको वृद्धिसँगै कारोबार पनि बढ्यो । त्यसले पुँजीगत लाभकर पनि बढाएको छ ।

सीडीएससीका अनुसार व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट कुल उक्त परिमाणमा लाभकर उठेको हो । एक वर्षको अवधिमा सेयर बजार परिसूचक ९६ अंकले बढेको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ बाट अल्पकालीन लगानीकर्ता र दीर्घकालीन लगानीकर्ताको लागि पुँजीगत लाभकरको दर कार्यान्वयनमा ल्याएको थियो । २०७८ साउन १ गतदेखि १ वर्षभन्दा कम अवधि सेयर होल्ड गरी नाफामा बिक्री गर्दा ७.५ प्रतिशत र १ वर्ष वा सोभन्दा बढी सेयर होल्ड गरेर बिक्री गरेको सेयरमा नाफामा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था भयो । त्यसअघि सबै कारोबारमा ५ प्रतिशत लाभकर लाग्ने व्यवस्था थियो ।

बजार परिसूचक धेरै माथि नगए पनि कारोबार रकम बढेको र अल्पकालिन लगानीकर्ताको रुपमा १ वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्दा लाग्ने कर पनि बढेको कारण आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षमो पुँजीगत लाभकर बढी संकलन भएको देखिन्छ ।

गत आर्थिक वर्षमा सेयर कारोबार गर्दा लगानीकर्ताबाट नेप्सेले पाउने कमिसन १ अर्ब ९४ करोड र नेपाल धितोपत्र बोर्डले पाउने कमिसन ६३ करोड पुगेको छ । त्यस्तै टीडीएस १ अर्ब ६३ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्राथमिक सार्वजनिक निष्कासन (आईपी) मार्फत ४ वटा कम्पनी थपिएका छन् ।

प्राथमिक सार्वजनिक निष्कासनमार्फत् ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामुहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

पछिल्लो ५ आर्थिक वर्षमा संकलन भएको पुँजीगत लाभकर

आर्थिक वर्ष २०७७/७८ : १४ अर्ब १३ करोड

आर्थिक वर्ष २०७८/७९ : १० अर्ब ३५ करोड

आर्थिक वर्ष २०७९/८० : २ अर्ब ९७ करोड

आर्थिक वर्ष २०८०/८१ : ५ अर्ब ५१ करोड

आर्थिक वर्ष २०८१/८२ : १६ अर्ब ५७ करोड

पछिल्लो ५ आर्थिक भएको सेयर कारोबार

आर्थिक वर्ष २०७७/७८ : १४ खर्ब ५४ अर्ब ४४ करोड

आर्थिक वर्ष २०७८/७९ : १२ खर्ब २ अर्ब १० करोड

आर्थिक वर्ष २०७९/८० : ४ खर्ब ६७ अर्ब १३ करोड

आर्थिक वर्ष २०८०/८१ : ७ खर्ब ३४ अर्ब ६८ करोड

आर्थिक वर्ष २०८१/८२ : २१ खर्ब २४ अर्ब ९१ करोड