भूमि मन्त्रीमाथि ३२ लाख घूस लिएको आरोप लागेको अडियोमा के छ ?

385
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि ३२ लाख रुपैयाँ घूस लिएको आरोप लगाेको नयाँ अडियो सार्वजनिक भएको छ । अडियोमा पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा सेटिङ गरेर दर्ता गराउन उक्त रकम असुलिएको उल्लेख छ ।

बुधबार सार्वजनिक भएको अडियोमा एमाले निकट स्थानीय नेता तथा बिचौलिया सुजन लामाले मन्त्री अधिकारीले सो रकम मन्त्री निवासमै बुझेको दाबी गरेका छन् । अडियो अनुसार यो ‘सेटिङ’ मा मन्त्रीका छोरा मनोज अधिकारी र भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलको पनि संलग्नता रहेको छ ।

लामाले अडियोमा सचिव पोखरेलले पनि छुट्टै पाँच लाख रुपैयाँ घूस लिएको दाबी गरेका छन् । तर, अडियोमा आरोपित व्यक्तिहरूको आवाज भने सुनिँदैन ।

सुजन लामाका अनुसार यो ‘सेटिङ’ प्रक्रिया, भ्रमण व्यवस्थापन र अन्य खर्चसमेत गरी कूल डेढ करोड रुपैयाँ खर्च गरिएको थियो । अडियोमा उनले घूस रकम ‘जेब्रा झोला’ मा राखेर कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीमार्फत मन्त्रीलाई बुझाएको दाबी गरेका छन् ।

‘रामचन्द्रलाई ३२ लाख रुपैयाँ नोट राखेर जेब्रा झोलामा दिएको हो । उसले लगेर बुझायो । ट्रस्ट त मनोजमै हो । मनोज साथी हो, उसले ‘हो, बुझायो’ भन्यो । रामचन्द्रले बुझाएकै हो भन्ने थाहा छ, किनभने म आफैं बाइकमा थिएँ । उसलाई भित्र पठाएँ, म बाहिर थिएँ,’ अडियोमा लामाको भनाइ सुन्न सकिन्छ ।

न्युजिल्यान्डमा बस्दै आएका मनोज अधिकारी बुबा मन्त्री बनेपछि नेपाल फर्किएको र सो प्रकरणमा प्रत्यक्ष संलग्न रहेको आरोप अडियोमा लगाइएको छ ।

लामाले प्रकाश दाहाल, आर्यन शर्मा लगायतको समन्वयमा मन्त्री र उनका छोरा पोखरा पुगेको बेला मालपोत प्रमुख रामचन्द्र अधिकारीको सरुवासम्बन्धी ‘डिल’ फाइनल गरेको सुन्न सकिन्छ । त्यसपछि रामचन्द्र अधिकारीलाई कास्कीबाट लमजुङ सरुवा गरिएको थियो ।

त्यस्तै, लामाले आफूले मन्त्री अधिकारीसँग प्रत्यक्ष भेट गरेको दाबीसमेत गरेका छन् । अडियोअनुसार, मन्त्रीले उनीसँगको भेटमा ‘यदि तपाईंले खेम पुनको कुरा पहिल्यै राख्नुभएको भए, गरिदिने थिएँ’ भनेको सुनिन्छ ।

‘हिजो भूमिमन्त्रीसँग भेट भएको थियो । उहाँले भन्नुभयो, ‘तपाईंको नाम त पहिल्यै सुनेको थिएँ, तपाईं त मेरा सबै भाइहरूसँग नजिक हुनुहुँदो रहेछ । तपाईंले पाँच दिन अघिनै कुरा उठाउनुभएको भए, म खेम पुनलाई गरिदिन्थेँ,’ भन्ने कुरा अनिल मरासिनीको अगाडि भन्नुभयो,’ लामाले अडियोमा भनेका छन् ।

बिचौलियासँग घूसको संवादपछि विवादमा तानिएका राजकुमार गुप्ताले यसअघि नै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजीनामा दिएका छन् ।

गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठेको थियो। बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्ति गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियोमा सुनिन्छ ।