१ अर्ब ५० करोडभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने २ भारतीय नागरिक सानेपाबाट पक्राउ

336
Shares

काठमाडौं । प्रहरीले डेढ अर्ब रूपैयाँबराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले ललितपुरको २ सानेपाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

केही व्यक्तिहरुले अवैध हुन्डी कारोबार गरेको तथा क्रिप्टोकरेन्सी (अभौतिक) मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारीका ४३ वर्षिय रुपेश कुमार गुप्ता र बिहारमै पूर्वी चम्पारण बिजबानीका २२ वर्षिय विपिन कुमार रहेका छन् ।

गुप्ताको साथबाट प्रहरीले ५ वटा मोबाइल, नेपाली रूपैयाँ ८ लाख २० हजार, भारू १० हजार र सीसीटीभी डीभीआर बरामद गरेको छ । यसैगरी कुमारको साथमा कस्तुरीको विना र (अखेटोपहार)जस्तो देखिने वस्तु भेटिएको छ ।

भारतीय नागरिक गुप्ताले सञ्चालन गरेको राजतिर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा गैरकानुनी हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता,२०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुन्डीसम्बन्धि कारोबार गर्न नहुने कसूर र वन्यजन्तु सम्बन्धी कसूरमा मुद्दा चलाइनेछ ।