
एजेन्सी । चीनले वायु ऊर्जा प्रविधिमा नयाँ फड्को मारेको छ ।
चाइना तोङफाङ इलेक्ट्रिक टेक्नोलोजीले संसारको सबभन्दा ठूलो अफशोर विन्ड टर्बाइन बनाएको छ । यसले एउटा ससानो शहरलाई विद्युत् आपूर्ति गरिदिन्छ ।
१० मिटर प्रति सेकेन्ड हावाको गतिमा सञ्चालन हुँदा १८५ मिटर अग्लो र २६ मेगावाटको टर्बाइनले प्रत्येक वर्ष १० करोड किलोवाट आवर नवीकरणीय विद्युत् उत्पादन गर्छ ।
यसअघि १८ मेगावाटको कीर्तिमानभन्दा यो ३१ प्रतिशत बढी हो । यो टर्बाइन आफैंमा सबभन्दा विशाल हो ।
यसले लगभग ५५ हजार घरलाई वार्षिक विद्युत् आपूर्ति गर्न सक्छ । त्यतिका लागि ३० हजार टन कोइला आवश्यक पर्थ्यो । त्यो नहुँदा ८० हजार टनभन्दा बढी कार्बनडाइअक्साइड वायुमण्डलमा जान पाउँदैन ।
यो टर्बाइन कठोर वातावरणमा पनि सञ्चालन हुने गरी बनाइएको हो । विशाल तुफान आउँदा पनि यो अडिएर बस्न सक्छ ।
यसको पूर्णरूपमा सील गरिएको संरचना र खिया नलाग्ने अत्याधुनिक प्रणालीले यसलाई समुद्रको नुनिलो पानीबाट जोगाउँछ ।
सन् २०२४ को नोभेम्बरमा कम्पनीले फुचियान फुचाउ अफशोर विन्ड पावर इन्डस्ट्रियल पार्कमा उत्पादन थालेको थियो । अब यो सञ्चालनमा आइसकेको छ ।
वायु ऊर्जा उत्पादनमा चीन संसारकै अग्रणी मुलुक हो । सन् २०२३ मै चीनले ७७.१ गिगावाटको वायु ऊर्जा जडान गरेको थियो । त्यो संसारभरिको वायु ऊर्जाको ६५ प्रतिशत हो ।








प्रतिक्रिया