युक्रेनमा अमेरिकाको रुचि घट्न थालेपछि सम्भव होला शान्ति ?

581
Shares

काठमाडौं । गत साता रुसी सैनिकहरूले युक्रेनको दोनेत्स्क क्षेत्रमा रहेको बहुमूल्य लिथियम धातु पाइने स्थानमा नियन्त्रण कायम गरेका थिए । रुसले युक्रेनविरुद्ध चलाइरहेको कारवाहीमा यो ठूलो सफलता हो ।

उक्त स्थानमा लिथियमको भण्डार सानो भए पनि गुणस्तरीय लिथियम रहेको औद्योगिक विश्लेषकहरूको भनाइ छ । अर्को शब्दमा भन्नुपर्दा, अमेरिकाको ट्रम्प प्रशासनले यसै वर्षको आरम्भमा युक्रेनसँग गरेको खनिज सम्झौतामा यस्तै किसिमको लिथियम हात पार्न खोजेको थियो ।

तर, रुसले त्यस लिथियममा कब्जा गरिदिँदा वाशिङटनले कुनै प्रतिक्रिया दिएन । डोनल्ड ट्रम्प र उनका समर्थकहरूले यस विषयमा खासै कुरा उठाएनन् । युक्रेन र उसका समर्थकहरूले खनिज सम्झौताका कारण युक्रेनमाथि अमेरिकाको चासो बढ्ने र सुरक्षा सुनिश्चित हुने आशा गरिरहेका थिए । उनीहरू निराश हुने पक्का छ ।

अमेरिकामा यस विषयले खासै चर्चा नबटुलेको भए पनि यसले युद्धको अवस्था र निकट भविष्यमा आउने शान्तिका सम्भावनाका विषयमा तीनवटा सन्देश दिएको छ ।

पहिलो, समय अहिले युक्रेनको पक्षमा नरहेको यसले स्पष्ट पार्छ । युद्धलाई निरन्तरता दिँदा किएभले खासै केही जित्न सक्ने पनि देखिँदैन र वार्तामा उसको हैसियत बलियो पनि बन्दैन । ट्रम्प प्रशासनले मंगलवार मात्र सैन्य सहायता रोक्ने आदेश दिएको छ ।

बाइडन प्रशासनले दिने भनेर तयार पारेको सहायता प्याकेजलाई ट्रम्प प्रशासनले रोकेको हो । युक्रेनी सेनाले रुसको ड्रोन र क्षेप्यास्त्र आक्रमणबाट आफ्ना शहरहरूलाई जोगाउनका लागि आवश्यक वायु प्रतिरक्षा क्षेप्यास्त्र गुमाउन थालेको छ । अमेरिकी सहायता बन्द भएमा युक्रेनले अन्य सैन्य उपकरण पनि गुमाउनेछ ।

त्यससँगै युक्रेनी सैनिकहरू थाक्न थालेको र युद्धभूमि छोडेर भाग्न थालेको पाइएको छ । युक्रेनको पक्षमा यो पासा पल्टिने खासै सम्भावना छैन ।

युक्रेनलाई लडाइँ जारी राख्नका लागि प्रोत्साहन गर्ने आवाजहरू अझै पनि सुनिन्छन् । रुस धराशायी हुनै लागेको पनि कतिपयले भन्ने गरेका छन् । युरोप र अमेरिकाले थप सैन्य सहायता गरेमा युक्रेनले जित्ने सम्भावना कायम रहेको कतिपय बताउँछन् । तर, यो दिवास्वप्न मात्र हो । पुटिनले युक्रेनमा विजय पाउनका लागि सबै कुरा दाउमा लगाएका छन् र अहिले आएर उनी पछि फर्किने कल्पना गर्न सकिन्न ।

रुसले थप पीडा खप्न सक्ने र आवश्यक परेमा अझै धेरै लडाइँ गर्न सक्ने सोच पुटिनले बनाएका छन् । उता, युक्रेनले क्रमशः आफ्नो भूभाग गुमाउँदै गएको छ र त्यससँगै उसले पुनर्निर्माणका लागि आवश्यक बहुमूल्य स्रोतसाधन र आर्थिक क्षमता पनि गुमाउन थालेको छ ।

लडाइँ जारी राखेर किएभले युक्रेनको युद्धोत्तर भविष्य पनि दाउमा राखेको छ । जति छिटो युद्ध अन्त्य हुन्छ, युक्रेनका लागि सम्झौताका शर्तहरू पनि लचिलो रहन्छन् ।

दोस्रो, लिथियमका विषयमा अमेरिकाले जनाएको चिसो प्रतिक्रियाले युक्रेन अहिले ट्रम्पको प्राथमिकता सूचीमा एकदमै तल रहेको देखाउँछ । ट्रम्प दोस्रो कार्यकाल चलाउनका लागि ह्वाइट हाउस फर्किँदा युक्रेनलाई आत्मसमर्पण गर्न लगाउने र रुसलाई सबै फाइदा लुट्न दिने भनी युक्रेनसमर्थकहरूले डर मानेका थिए । तर युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की र ट्रम्पबीच ओभल अफिसमा बाझाबाझ भए पनि ट्रम्पले युक्रेनलाई आत्मसमर्पणका लागि बाध्य बनाएनन् ।

तर, किएभ र उसका समर्थकहरूसमक्ष नयाँ चिन्ताको विषय छ । ट्रम्पले युक्रेनमा चासो देखाउनै छोडेका छन् । तीन वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्नका लागि शान्ति सम्झौता गर्ने प्रयास असफल भइरहँदा ट्रम्प निराश भएका थिए । त्यसमाथि, पश्चिम एसियामा दुई हप्ता चलेको संकटले युक्रेनलाई ह्वाइट हाउसको रेडारबाट बाहिर लगिदियो ।

क्यानडामा आयोजित जी–७ बैठकबाट चाँडै निस्किएर ट्रम्पले जेलेन्स्कीसँगको बैठकै गरेनन् । त्यसको एक हप्तापछि नेटो शिखर सम्मेलनको साइडलाइनमा यी दुईबीच भेट भयो तर सम्मेलनको एजेन्डामा युक्रेन युद्धलाई राखिएन । यस विषयमा अमेरिका र नेटो साझेदारहरूबीचको असमझदारी सतहमा नआओस् भनेर त्यसो गरिएको थियो । युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहायता प्याकेज दिने विषयमा कुराकानी भएको छैन । युक्रेनले अमेरिकी हतियार किन्ने भनी गरेको प्रस्तावप्रति पनि वाशिङटनमा खासै उत्साह छैन ।

अहिलेको अवस्थामा ट्रम्पले ट्रुथ सोसलमा कहिलेकाहीँ युक्रेनका बारेमा पोस्ट गरे पनि युक्रेन र रुसलाई आफैं सम्झौतामा नआउन्जेलसम्म लड्न दिइरहँदा ट्रम्प सन्तुष्ट देखिन्छन् ।

युद्धभूमिमा लगातार सफलता पाइरहेको रुसका लागि यो स्थिति स्वागतयोग्य छ भने युक्रेनमा खासै रणनीतिक चासो नभएकाले पनि अमेरिकालाई युद्ध चलिरहे पनि फरक पर्दैन । तर, यसले किएभलाई अप्ठ्यारो स्थितिमा पु¥याएको छ । यस्तो स्थितिलाई खनिज सम्झौताले रोक्थ्यो ।

खनिज सम्झौतामा ट्रम्पले चासो कायम नराख्नु आश्चर्यजनक छैन । यो अनिश्चित शर्तहरू भएको कमजोर सम्झौता हो । सम्झौता गर्ने तर त्यसमा अडिएर नबस्ने ट्रम्प जस्ता राष्ट्रपतिले त्यसमा हस्ताक्षर गरेका छन् । तर, अमेरिकाले दिएको चिसो प्रतिक्रियाले किएभलाई अब आफैं अघि बढ्नुपर्ने कठोर सन्देश दिएको छ । प्रभावहीन सम्झौता र अनुनयविनयले युक्रेनप्रति अमेरिकाको चासो र समर्थन जगाउँदैन । युक्रेनबाट अमेरिकाले हात झिकेमा युरोपले त्यो खाडललाई अलिकति त पुर्ला तर युक्रेनको भविष्य अब आफ्नै हातमा छ ।

तेस्रो, युद्धभूमिमा युक्रेनले बेहोरिरहेको समस्या र अमेरिकाले देखाउन छोडेको चासोले शान्तिको साँचो पुटिनकै हातमा रहेको संकेत दिन्छ । युद्धभूमिमा सुस्त प्रगति गरिरहेको र हातहतियार तथा सैनिकहरू गुमाइरहेको भए पनि रुस लगातार अघि बढिरहेको छ । रुसले युक्रेनी मोर्चाका कमजोर कडीहरूलाई समातेर भूभागमा नियन्त्रण कायम गरिरहेको छ । युक्रेनको आर्थिक र प्राकृतिक स्रोतलाई पनि उसले नियन्त्रणमा लिइरहेको छ ।

रुसले पछिल्ला दिनहरूमा युक्रेनका शहरमा लगातार क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेको देख्दा पुटिन युद्धबाट नथाकेको र युद्धभूमिमा लगातार अघि बढ्न चाहेको स्पष्ट हुन्छ ।

यस स्थितिलाई परिवर्तन गर्नका लागि युरोप वा अमेरिकाले खासै केही गर्न सक्दैनन् । ट्रम्पले पुटिनलाई दबाब दिएर युद्धविराम गराएछन् भने पनि यही स्थिति कायम रहन्छ । थप आर्थिक प्रतिबन्धले पनि पुटिनलाई पछि हट्नबाट बाध्य बनाउन सक्दैन ।

पश्चिमले विशाल संख्यामा हातहतियार उत्पादन गर्न नसकेको देख्दा युक्रेनलाई थप सैन्य सहायता दिन गाह्रो छ । युक्रेनले खेल्ने दाउहरू एकदमै कम छन् । अपरेशन स्पाइडरवेब जस्ता जोखिमयुक्त सैन्य कारवाहीले मस्कोलाई खर्च बढाउने काम त गर्लान् तर पुटिनको संकल्पलाई रोक्न सक्दैनन् ।

तर, पुटिन अहिले लाभदायक स्थितिमा भए पनि एउटा विन्दुमा पुगेर उनी पनि लडाइँ रोक्न चाहन्छन् । यसै वर्षको जाडोमा रुसको आक्रमण कमजोर हुन पनि सक्छ । ट्रम्प र उनका समर्थकहरूले अहिले युक्रेनलाई प्राथमिकता नदिएको भए पनि वार्ताको अवसर आएमा त्यसबाट फाइदा उठाउनका लागि उनीहरू अग्रसर हुन सक्छन् ।

ट्रम्प प्रशासनले केही महिनाअघि साउदी अरबको राजधनी रियादमा गरेको जस्तो अमेरिकी र रुसी अधिकारीहरूबीचको द्विपक्षीय वार्तालाई जारी राख्नुपर्छ । यस संवादलाई थप बलियो बनाएमा भविष्यमा ठोस छलफलको बाटो खुल्नेछ, भलै अबका केही महिनामा सतही वार्ता मात्र होऊन् ।

रुस र युक्रेनलाई प्रत्यक्ष संवाद गराउन ट्रम्पले प्रोत्साहन गर्नुपर्छ । लडाइँ गरिरहेका मुलुकको समर्थन भएमा मात्र दिगो सम्झौता सम्भव हुन्छ । शान्ति सम्झौता गर्ने हो भने आमनेसामने भएर रुस र युक्रेनले वार्ता गर्नुपर्छ ।

वाशिङटनले शान्तिका लागि युरोपलाई पनि साथमा लिनुपर्छ । विगतमा युरोपेली नेताहरू नै युद्ध अन्त्य गर्ने प्रयासका बाधक थिए । नेटोको पछिल्लो सम्मेलनले के देखायो भने युरोप अहिले अमेरिकाको छत्रछायाँ गुमाइने हो कि भनी डराएको छ । ट्रम्पले अमेरिकी शक्तिको उपयोग गरी युरोपलाई युक्रेन, रुस र अमेरिकाले सहमति जनाएको शान्ति सम्झौताको समर्थन गर्न युरोपलाई बाध्य बनाउनुपर्छ ।

रुसले पूर्वी युक्रेनमा रहेको लिथियम भण्डारमा नियन्त्रण कायम गरेको र ट्रम्प प्रशासनले त्यसमा चिसो प्रतिक्रिया दिएको कुराले रुस–युक्रेन युद्धका बारेमा अनेकौं कुरा भन्छ । अहिले युक्रेन कमजोर स्थितिमा रहेको र अमेरिकाको ध्यान अन्यत्रै मोडिएको अवस्थामा पुटिनले युद्धको गतिलाई नियन्त्रण गरेको देखिन्छ । तत्कालै शान्ति आउने सम्भावना देखिँदैन तर वाशिङटनले त्यसका लागि काम थालेमा भविष्यमा शान्ति सम्झौताका थप अवसरहरू आउनेछन् ।

(रेस्पोन्सिबल स्टेटक्राफ्टमा प्रकाशित जेनिफर कभानाको लेखलाई क्लिकमान्डुका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।)