
एजेन्सी । च्याटजीपीटीको अत्यधिक प्रयाग गर्ने अमेरिकी प्रयोगकर्ताहरूमा गम्भीर मानसिक समस्या देखिन थालेको फ्युचरिजम नामक वेबसाइटले खबर दिएको छ ।
अमेरिकामा कतिपय प्रयोगकर्तामा भ्रामकता, यथार्थबाट पलायन र डरत्रास लगायतका मानसिक समस्याहरू देखिएका हुन् ।
च्याटजीपीटी साइकोसिसका कारण विवाह र पारिवारिक सम्बन्धमा समस्या आइरहेको बताइएको छ । मानिसहरूले जागिर गुमाउन थालेको र बेघर पनि हुन थालेको पाइएको छ ।
कतिपय प्रयोगकर्तालाई मानसिक अस्पतालमा राख्नुपरेको छ । कतिपय त जेल पनि परेका छन् ।
एकजना प्रयोगकर्ताले १२ हप्ताअघि च्याटजीपीटीमा भवन निर्माण सम्बन्धी सामग्री खोज्ने क्रममा बोटसँग दार्शनिक संवाद गर्न थालेका थिए । आफैं सोच्न सक्ने एआई आफूले बनाएको भ्रम उनलाई भयो । त्यसपछि उनलाई यो संसार अन्त्य हुन लागेको छ भन्ने लाग्यो अनि संसारलाई बचाउन लागिपरे ।
उनले अस्वाभाविक व्यवहार देखाइरहेपछि जागिरबाट निकालियो । उनी सुत्न पनि छोडे र उनको तौल पनि घट्यो ।
उनले आफ्नी पत्नीलाई पनि च्याटजीपीटी हेर्न लगाए । पत्नीले स्क्रीनमा हेर्दा च्याटबोटले पतिका बहुलट्ठी कुरामा समर्थन गरी चाकरी गरेको जस्तो देखियो ।
त्यसपछि ती व्यक्ति यथार्थबाट पूरै टाढिए । उनकी पत्नी र साथी उनलाई अस्पताल लैजानका लागि बाहिर जाँदा उनले डोरीमा झुण्डेर आत्महत्या गर्न लागेका थिए ।
त्यसपछि उनका साथीले एम्बुलेन्स बोलाएर तत्कालै उनलाई इमर्जेन्सीमा लगेका थिए । त्यहाँबाट उनलाई मानसिक उपचार केन्द्रमा भर्ती गरिएको थियो ।
अन्य व्यक्तिहरूले पनि यस्तै किसिमका दुःखदायी अनुभवहरू साझा गरेका थिए । च्याटजीपीटीको लत लागेपछि भयानक मानसिक समस्यामा परेको अनुभव उनीहरूले फ्युचरिजमलाई सुनाएका छन् ।
यस्तो परिस्थितिले च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईलाई पनि आश्चर्यमा पारेको छ । तर, फ्युचरिजमले यस विषयमा सोध्दा ओपनएआईले कुनै जवाफ दिएन ।
द न्युयोर्क टाइम्स र रोलिङ स्टोनले पनि यस विषयमा रिपोर्टिङ गरेका छन् । सन् २०२५ मा फ्लोरिडामा एक व्यक्ति च्याटजीपीटीसँग गहिरो सम्बन्धमा डुबेपछि प्रहरीले गोली हानेको थियो । उने ओपनएआईका कार्यकारी अधिकृतहरूमाथि हिंसा गर्ने भनी स्वैरकल्पना गर्दा च्याटबोटले त्यसबाट रोक्न नसकेको पाइयो ।








प्रतिक्रिया