
एजेन्सी । अजरबैजानका अधिकारीहरूले रुसको सरकारी सञ्चारमाध्यम आरआईएका दुईजना पत्रकारलाई सोमवार पक्राउ गरेपछि दुई देशबीचको तनाव चुलिएको छ ।
यसअघि रुसले दुईजना अजरबैजान मूलका व्यक्तिलाई गम्भीर अपराधको आरोप लगाउँदै पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिको हिरासतमा मृत्यु भएको थियो ।
रुसी पत्रकारलाई पक्राउ गरेपछि अजरबैजानको गृह मन्त्रालयले स्पुतनिक अजरबैजानको कार्यालयमा छापा मारिएको र त्यसमाथिको अनुसन्धान थालिएको जानकारी दिएको थियो ।
आरआईए समाचार संस्थाले एडिटोरियल बोर्डका प्रमुख र प्रधानसम्पादकलाई पक्राउ गरिएको हो ।
अर्को रुसी सञ्चारमाध्यम रप्ट्लीका सम्पादकलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ । उनले बाकुमा रहेको स्पुतनिकको कार्यालयमा प्रहरीले गरेको धरपकडको भिडियो बनाएका थिए ।
केही दिनअघि रुसको औद्योगिक शहर येकातेरिनबर्गमा रुसी सुरक्षाकर्मीहरूले ६ जना अजरबैजानी मूलका व्यक्तिलाई पक्राउ गरेका थिए । निकै पहिले भएका अपराधहरूको अनुसन्धानको सिलसिलामा ती व्यक्तिलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका सबै ६ जनासँग रुसी राहदानी थियो । तीमध्ये दुईजनाको हिरासतमा मृत्यु भयो । अजरबैजानको गृह मन्त्रालयले ती अजरबैजानी मूलका व्यक्ति भएको जनाएको छ ।
एकजनाको हृदयघातका कारण मृत्यु भएको रुसी सुरक्षाकर्मीहरूले बयान जारी गरेर जानकारी दिए । अर्का आरोपितको मृत्युको कारण मेडिकल जाँचपछि खुल्ने उनीहरूको भनाइ छ ।
आरोपितहरूको मृत शरीर सोमवार राति अजरबैजान ल्याइएको छ । त्यहाँ पोस्टमोर्टम गरेर मृत्युको कारण पत्ता लगाइनेछ ।
रुसी प्रहरीले जातीय आधारमा गैरकानूनी हत्या गरेको आरोप अजरबैजानले लगाएको छ । रुसले त्यो आरोपलाई खारेज गरेको छ ।
रुसी सञ्चारमाध्यममा छापा मारिरहँदा रुसले अजरबैजानी राजदूतलाई बोलाएर रुसी पत्रकारहरूको गैरकानूनी पक्राउको बारेमा असन्तुष्टि जाहेर गरेको थियो ।
स्पुतनिक अजरबैजानले अवैध लगानीमा काम गरिरहेको विषयमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया