
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ २० जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ प्राप्त २० सिटका लागि बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार २० सिटमध्ये १५ जना महिला र ५ जना पुरुषको नाम निर्वाचन आयोगमा पठाइनेछ।
फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जितेको थियो । सोही आधारमा समानुपातिकतर्फ सांसद बन्ने २० जनाको नाम आयोगमा बुझाउने निर्णय गरिएको हो ।
समानुपातिकतर्फ पठाइएका नामहरूको विवरण भने निर्वाचन आयोगले पछि सार्वजनिक गर्ने उनले जानकारी दिए।
उनका अनुसार संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) गरी कांग्रेसको प्रतिनिधित्व ६२ सिटमा रहनेछ । त्यसमा संविधानअनुसार कम्तीमा २१ सिटमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएकाले समानुपातिकतर्फ १५ जना महिला पठाउने निर्णय गरिएको हो ।
पार्टीले पठाएको बन्दसूचीमा पछि फेरबदल गर्ने सुविधा नहुने पनि चालिसेले बताए । साथै निर्वाचनको समीक्षा गर्न यही साता केन्द्रीय समिति बैठक बस्ने तयारी रहेको उनले जानकारी दिए।







प्रतिक्रिया