यसरी बढ्दै छन् भारतीय र चिनियाँ पर्यटक, कुन बर्ष कत्ति ?



काठमाडौं । केही वर्षयता निरन्तर ओरालो लागेको भारतीय पर्यटकको आगमनदर पछिल्लो दुई वर्षयता भने पुन उत्साहजनक रुपमा बृद्धि हुन थालेको छ । सन् २०१७ मा भारतीय पर्यटकको आगमनदर उच्च छ । निरन्तर घट्दै गएको भारतीय पर्यटक आगमनदर बढ्न थालेपछि पर्यटन व्यवसायमा उत्साह थपिएको छ ।

नेपालमा सन् २०१३ मा सवैभन्दा धेरै भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष १ लाख ८० हजार ९ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसयता निरन्तर घट्दै आएको भारतीय पर्यटक आगमनदर सन् २०१७ मा १ लाख ६० हजार ८ सय ३२ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

भारतीय पर्यटक आगमनदरमा यसअघि सन् २०१२ मा १ लाख ६५ हजार ८ सय १५ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए । उक्त संख्या सन् २०१६ को भन्दा ४२ हजार ५ सय ८३ ले बढी हो । यो बृद्धिदर स्थिर रहेमा सन् २०१८ मा २ लाख भन्दा बढी भारतीय पर्यटन नेपाल आउने प्रक्षेपण गरिएको छ ।

“भारतमा परिवारसहित घुमफिर गर्ने संस्कृति रहेकोले उनीहरुको प्रमुख पर्यटन गन्तव्य नेपाल हुनुपर्ने हो तर हुन सकिरहेको छैन,” होटल संघ नेपाल (हान) का महासचिव तथा एयरपोर्ट होटलका प्रवन्ध निर्देशक विनायक शाहले भने ।

नेपालमा हवाइ यातायात महंगो भएकोले भारतीयहरु नेपालमा भन्दा मलेसियामा भ्रमण गर्न जाने गरेकोले सोचे अनुसार भारतीय पर्यटक नेपाल भ्रमणमा नआएकबो शाहको बुझाई छ । नेपालको पर्यटनलाई जीवन्त राख्न चीन र भारतबाट आउने पर्यटकको लागि हवाइ भाडा दरमा कमी ल्याउनुको साथै सिधा उडानहरुले जोड्नु पर्ने शाहले बताए ।

चिनियाँ पर्यटक १ लाख ४ हजार
भारतीय पर्यटक आगमनदरलाई पच्छ्याई रहेको चिनियाँ पर्यटकको संख्यो सन् २०१७ मा १ लाख ४ हजार ६ सय ६४ पुगेको छ । सन् २०१५ मा चिनियाँ र भारतीय झन्डै बराबरी रुपमा भित्रिएको तथ्यांक थियो । सन् २०१५ मा चिनियाँ ७४ हजार ७ सय ७७ पर्यटक नेपाल आउँदा भारतीय ७४ हजार ८ सय ८४ मात्र भित्रिएका थिए । जुन १ सय ७ पर्यटक मात्र बढी थियो ।

सन् २००३ मा चीनबाट ७ हजार ५ सय ६२ पर्यटक नेपाल आउँदा भारतीयहरु ८६ हजार ३ सय ६३ पर्यटक आएका थिए । सन् २००३ को संख्या बढेर सन् २०१४ मा आइपुग्दा चिनियाँ पर्यटक १ लाख २३ हजार ८ सय ५ पुगेका थिए । जुन एक दशक पार गर्दा १६ गुणाले बढी हो ।

चिनियाँ नागरिक विश्वभर घुम्नेमा सवैभन्दा धेरै रहेकोले यसले नेपालले फाइदा लिन सकेमा नेपालको अर्थतन्त्रमा राम्रो प्रभाव पर्ने भएपनि फाइदा नेपालले लिन सकेको छैन् ।

भारतीय र चिनियाँ पर्यटकको आगमनदरको अवस्था

वर्ष चिनियाँ भारतीय जम्मा
२०१० ४६,७६० १,२०,८९८ ६,०२,८६७
२०११ ६१,९१७ १,४९, ५०४ ७,३६,२१५
२०१२ ७१,८६१ १,६५,८१५ ८,०३,०९७
२०१३ १,१३,१७३ १,८०,९७४ ७,९७,६१६
२०१४ १,२३,८०५ १,३५,३४३ ७,९०,११८
२०१५ ७४,७७७ ७४,८८४ ५,३८,९७०
२०१६ ८०,५५३ १,१८,२४९ ७,५३,००२
२०१७ १,०४,६६४ १,६०,८३२ ७,५७,४४८

स्रोतः अध्यागमन विभाग


क्लिकमान्डु