
इरानले कतारमा रहेको अमेरिकाको सैन्य अड्डामा आक्रमण गरेलगत्तै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका छन् ।
इजरायल र इरानबीचको लडाइँमा सहभागी भएर अमेरिकाले इरानका आणविक केन्द्रमा बम प्रहार गरेपछि त्यसको जवाफमा इरानले अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको हो ।
अमेरिकी आक्रमणपछि सोमवार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीका सल्लाहकार अली अकबर विलायतीले पश्चिम एसिया वा अन्यत्र रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण गरिने घोषणा गरेका थिए ।
त्यही राति कतारको राजधानी दोहामा रहेको अल उदेद एयरबेसमा विस्फोटको आवाज सुनियो । त्यो पश्चिम एसियामा अमेरिकाको सबभन्दा ठूलो सैन्य अड्डा हो ।
इरानबाट १९० किलोमिटर टाढा रहेको कतारमा सन् १९९६ मा अमेरिकाले अल उदेद सैन्य अड्डा बनाएको थियो । अमेरिकी सेनाको सेन्ट्रल कमान्डको फर्वार्ड हेडक्वार्टर अल उदेदमा छ । त्यसले इजिप्टदेखि कजाकस्तानसम्मको विशाल भूभागमा अमेरिकी सैन्य कारवाहीको सुपरिवेक्षण गर्छ ।
त्यहाँ कतार, अमेरिका, बेलायत र अन्य मुलुकहरूको वायुसेना बस्ने गरेका छन् । त्यहाँ लगभग १० हजार सैनिक छन् ।
कतारले त्यस सैन्य अड्डाको स्तरोन्नतिका लागि ८ अर्ब डलरभन्दा बढी रकम खर्च गरिसकेको छ ।
इराक र अफगानिस्तानमा अमेरिकी सेनाको हवाई आक्रमण तथा मानवीय मिसनहरू अल उदेदबाटै सम्पन्न भएको हो ।
इरानले उक्त अड्डामाथि क्षेप्यास्त्र आक्रमण गरेपछि कतारको विदेश मन्त्रालयले एयरस्पेस अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको थियो । तर केही घन्टापछि एयरस्पेस पुनः खुलाइएको थियो ।
कतारका हवाई प्रतिरक्षा प्रणालीहरूले इरानी क्षेप्यास्त्रहरूलाई बीचैमा नष्ट गरिदिएका थिए ।
इरानमाथि बम आक्रमण गर्नुअघि नै अमेरिकाले पूर्वसतर्कताका उपायहरू अपनाइसकेको थियो ।
अल उदेदमै पनि अमेरिकी सेनाका दर्जनौं विमानहरू धावनमार्गमा देखिएका थिएनन् । जुन ५ मा अमेरिकाका ४० वटा जति लडाकू विमान त्यस अड्डामा देखिएकोमा जुन १९ मा जम्मा ३ वटा विमान मात्र थिए ।
कतारले आफ्नो हवाईअड्डामा इरानले गरेको आक्रमण सार्वभौमसत्तामाथिको जघन्य उल्लंघन भएको बयान दिएको छ ।
तर यसका लागि इरानलाई सजाय दिने पक्षमा कतार देखिँदैन । अल उदेदमा मानवीय हताहती हुन्थ्यो भने चाहिँ इरानविरुद्ध प्रत्याक्रमणका लागि कतार बाध्य हुन सक्थ्यो ।
कतार र इरानबीच सौहार्द्रतापूर्ण सम्बन्ध रहिआएको छ । यी दुई देशको बीचमा रहेको पार्स ग्यासफील्डबाट दुवैले ग्यास दोहन गर्दै आएका छन् । इरानका आणविक केन्द्रहरूमा अमेरिकाले गरेको आक्रमणलाई कतारले निन्दा गरेको छ ।
इरानले पनि अल उदेदमा क्षति पुर्याउने भन्दा पनि अमेरिकालाई सन्देश दिने हिसाबमा देखावटी आक्रमण (पर्फर्मेटिभ स्ट्राइक) गरेको हो । आफूहरू अमेरिकाको जुनसुकै सैन्य अड्डामा आक्रमण गर्न समर्थ रहेको सन्देश इरानले दिन चाहेको हो ।
तर अमेरिकासँगको द्वन्द्व नचर्कियोस् भनी सचेत रहेको इरानले आक्रमणअघि पूर्वसूचना दिएको थियो । त्यसका लागि ट्रम्पले इरानलाई धन्यवाद दिएका छन् । तर, इरानको आक्रमण कमजोर खालको भएको भनी उनले गिल्ला पनि गरेका छन् ।








प्रतिक्रिया