हवाई आक्रमणपछि इरानविरुद्ध स्थलयुद्ध गर्ला अमेरिकाले ?


एजेन्सी । इजरायल र इरानबीच चलिरहेको द्वन्द्वकै बीचमा अमेरिकाले इरानको आणविक केन्द्रमा आक्रमण गरी आफू पनि युद्धमा सहभागी हुने संकेत दिएको छ ।

यस्तो अवस्थामा अहिलेको हवाई आक्रमण पर्याप्त नभएर स्थलयुद्ध पनि हुन सक्ने देखिएको छ ।

तर, इरानविरुद्धको स्थलयुद्ध सोचेजति सजिलो छैन । त्यस्तो युद्धमा ठूलो रकम खर्च हुन्छ, बन्दोबस्तीको सामान पुर्‍याउन निकै कठिनाइ आउँछ र स्रोतसाधन पनि धेरै लाग्छ ।

इरान शक्तिशाली सेना भएको विशाल मुलुक हो । उसको भूगोल अस्ट्रेलियाको जत्रो छ । इरानमाथि आक्रमण गर्दा इजरायल र अमेरिकाले मध्य र पश्चिमी भागमा ध्यान केन्द्रित गर्न सक्छन् किनकि फोर्दो, नतान्ज, इसफाहान, तेहरान जस्ता आणविक केन्द्र र सैन्य अड्डाहरू त्यहीँ छन् ।

ती ठाउँहरूलाई कडा सुरक्षा घेरामा राखिएको छ । तीमथिको आक्रमणका लागि कम्तीमा पनि दुईदेखि तीन महिना लाग्छ । तिनीमाथि नियन्त्रण कायम गर्न कम्तीमा तीन वर्ष लाग्छ ।

इराकलाई उदाहरण मानेर हेर्ने हो भने इरानमाथिको आक्रमणका लागि अमेरिकाले १ देखि साढे २ लाख सैनिक परिचालन गर्नुपर्छ । इराक युद्धलाई नै मानक बनाउने हो भने १५ हजारसम्म अमेरिकी सैनिकहरू, ८० हजारसम्म इरानी सैनिकहरू र ३ लाखसम्म इरानी सर्वसाधारणको ज्यान जान सक्छ । त्यो किनभने इरान घना आबादी भएको शहरी मुलुक हो ।

इराक युद्धमा अमेरिकाले लगभग २० खर्ब डलर स्वाहा पारेको थियो भने अफगानिस्तानमा उसको २२ खर्ब डलर खर्च भएको थियो ।

इरानमाथि आक्रमण गरेको खण्डमा अमेरिकाले प्रतिवर्ष ३०० देखि ४५० अर्ब डलर सैन्य प्रयोजनका लागि खर्च गर्नुपर्ने हुन सक्छ । त्यसमा बन्दोबस्ती र आपूर्तिका सामग्री, उपकरणमा हुने क्षति र मर्मत, उपचार खर्च लगायत पर्छन् ।

आक्रमणकारी शक्तिलाई बन्दोबस्तीको सामान पुर्‍याउन ठूलो समस्या आइलाग्छ । इरानमा पहाडी क्षेत्रहरू छन्, घना आबादी भएका विशाल शहर छन् र समुद्रबाट टाढा रहेका स्थानहरू छन् । अवतरण गर्न सजिलो भूमि वा बन्दोबस्तीका सामान लग्ने सहज मार्गहरू छैनन् ।

इरानमाथि आक्रमण गर्ने मुलुक त्यहाँ पस्ने नै कसरी ? टर्कीबाट ? टर्की नेटोको सदस्य राष्ट्र हो तर ऊ इरानप्रति कहिले तटस्थ, कहिले सहानुभूतिशील छ । इरानमाथिको आक्रमणका लागि टर्कीको भूमि उपयोग गर्दा टर्कीमै राजनीतिक संकट आइलाग्न सक्छ र राष्ट्रपति रेचेप तैयिप एर्दोआनको सत्तामा धावा बोलिन सक्छ ।

इराकबाट पश्चिमी इरानमा प्रवेश गर्न सकिन्छ । अमेरिकाले इराकको ऐन अल–असद र इर्बिलमा आफ्‌ना सैन्य अड्डाहरू राखेको छ । तर, इराकी संसद्ले अमेरिकी फौजहरू इराकबाट बाहिरिनुपर्ने माग राख्दै आएको छ । इराकमा शिया समुदायले इराकी भूमिको ठूलो भागमा नियन्त्रण कायम गरेका छन् । इराकी भूमि भएर इरानमाथि आक्रमण गर्नका लागि पहिला इराकभरि नै अमेरिकाले नियन्त्रण कायम गर्नुपर्छ । अझ, बन्दोबस्तीको सामान पुर्‍याउनका लागि लाग्ने खर्च त बेग्लै छ ।

पर्सियाली खाडीमा जल र स्थल दुवै स्थानबाट आक्रमण गर्ने विकल्प पनि छ । तर, इरानसँग भएको ड्रोन र क्षेप्यास्त्र प्रविधिका कारण उक्त क्षेत्रमा अमेरिकी सैनिकहरूले निकै ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । इरानले पर्सियाली खाडीको जलक्षेत्रमा बारुदी सुरुङ बनाउन सक्छ । यस्तो किसिमको जलस्थल कारवाही गर्ने प्राविधिक सम्भाव्यताको बारेमा धेरै जानकारी छैन ।

अफगानिस्तानसँग पनि इरानको सीमा जोडिन्छ । तर, अफगानिस्तानमा २० वर्ष रहेर बेइज्जतीपूर्ण बहिर्गमन गरेको अमेरिकाले अफगानी भूमि उपयोग गरी इरानमाथि आक्रमणको अपेक्षा गर्न सक्दैन । त्यस्तै, पाकिस्तानको भूमि भएर इरानमाथि आक्रमण गर्ने विकल्प पनि त्यति उचित देखिँदैन ।

सबभन्दा महत्त्वपूर्ण कुरा त, इरानविरुद्धको सैन्य कारवाहीका लागि महिनौंको तयारी गर्नुपर्छ । अधिकांश अमेरिकीहरू कुनै पनि विदेशी युद्धमा अमेरिकालाई संलग्न गराउनुहुँदैन भनिरहेका छन् । यस्तो स्थितिमा इरानविरुद्धको लामो र विनाशकारी युद्धका लागि उनीहरू तयार हुन्छन् भन्न गाह्रो छ ।