
इजरायल र इरानबीचको द्वन्द्व चर्किंदै जाँदा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई हत्या गर्न सकिने चेतावनी इजरायलीहरूले दिएका छन् ।
अहिले खमेनी सुरक्षित भूमिगत बंकमा लुकिरहेको र उनले तीनजना वरिष्ठ धर्मगुरुहरूलाई सम्भावित उत्तराधिकारी बनाएको द न्युयोर्क टाइम्सले खबर दिएको छ । उनीहरूको नाम चाहिँ पत्रिकाले खुलाएको छैन ।
इरानले अहिले अस्तित्वकै सबभन्दा ठूलो जोखिम बेहोरिरहेको छ । उसले इजरायलका साथै अमेरिकासँग पनि सम्भावित युद्ध लड्नुपर्ने स्थिति छ । यस्तो स्थितिमा इरानको नेतृत्व बलियो मुटु भएको मानिसबाट मात्र सम्भव छ ।
न्युयोर्क टाइम्सको समाचारमा उल्लेख भएअनुसार, खमेनीका छोरा मोजताबालाई सम्भावित उत्तराधिकारीको सूचीमा राखिएको छैन ।
अर्का सम्भावित व्यक्ति पूर्वराष्ट्रपति इब्राहिम रईसी थिए तर उनी सन् २०२४ मा हेलिकप्टर दुर्घटनामा परेर बिते ।
अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेपछि खमेनी कहाँ लुकेर बसेका छन् भनी सोधीखोजी भइरहेको छ ।
८६ वर्षीय खमेनी राजधानी तेहरानमा रहेको सुरक्षित भवनबाट प्रायः निस्कँदैनन् । अहिले उनले विद्युतीय माध्यमबाट हुने सबै सञ्चारलाई परित्याग गरेका छन् र विश्वासिलो सहयोगीमार्फत मात्र निर्देशनहरू दिने गरेका छन् ।
इजरायल र अमेरिकाले खमेनीको ठेगाना पत्ता नलगाऊन् भनी यो सतर्कता अपनाएको तीनजना इरानी अधिकारीहरूले न्युयोर्क टाइम्सलाई बताए । इजरायल र अमेरिका दुवैले खमेनीको हत्या हुन सक्ने चेतावनी दिँदै आएका छन् ।
आफ्नो हत्या भएको खण्डमा तत्कालै उत्तराधिकारी चयन गर्नका लागि खमेनीले तीनजनाको नाम एसेम्ब्ली अफ एक्सपर्ट्सलाई दिएका छन् । त्यो इरानको सर्वोच्च नेता चयन गर्ने शक्तिशाली निकाय हो । सामान्यतया नयाँ उत्तराधिकारी छान्न महिनौं लाग्छ तर खमेनीले छिटो र व्यवस्थित तरिका सुनिश्चित गर्ने निर्देशन दिएका छन् ।








प्रतिक्रिया