सभामुखले डायस छाडेर जान भनपछि अमरेशले भने, ‘जान्न’ (भिडियो)


काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले संसद बैठकमा बोलिरहँदा वादविवाद भएको छ ।

सिंहले नेपालको भू-भाग अरू कुनै देशलाई लिजमा दिन सकिने भनाइ राखेपछि बजेटबारेको छलफल चलिरहेको बैठक तनाव ग्रस्त बनेको हो ।

उनको उक्त अभिव्यक्तिलाई आपत्तिजनक र राष्ट्रघाती ठहर गर्दै सत्ता नेतृत्त्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाए । बर्तौलासँगै सत्ता गठबन्धनका सांसदहरू समेत आक्रोशित हुँदै सिंहको विरोधमा उठेका थिए।

सभामुख देवराज घिमिरेले सिंहको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै त्यस्ता शब्दहरू संसद्‌को रेकर्डबाट हटाउन निर्देशन दिए । यस्तै निर्णयपछि सांसद सिंह आक्रोशित बने । उनले सभामुख एमालेको पक्षपाती भएको आरोप लगाउँदै, ‘बजेटको विषयमा केही बोल्न पनि नपाइने ?’ भन्दै असन्तोष प्रकट गरे।

सिंहले सत्तापक्षी सांसदहरूलाई लक्षित गर्दै, ‘देशप्रति गद्दार तपाईंहरू हो,’ भनेर टिप्पणी गरेपछि सत्ता पक्षका सांसदहरू नाराबाजीमा उत्रिएका थिए ।

सभामुखले उनलाई विषय बस्तुबाट बाहिर गएको भन्दै डायस छाडेर तल जान भने । ‘७ मिनेट मेरो समय हो, म जान्न’ उनले भने।