इरानले इजरायलमाथि प्रतिबन्धित क्लस्टर बम प्रहार गरेको आरोप, किन छ त्यो खतरनाक ?

4.1k
Shares


इरानले इजरायलविरुद्ध बिहीवार प्रहार गरेको क्षेप्यास्त्रमा क्लस्टर बम नामक प्रतिबन्धित हतियार पनि रहेको भनी चिन्ता व्यक्त गरिएको छ ।

कम्तीमा एउटा क्षेप्यास्त्रमा क्लस्टर बम वारहेड रहेको भनी इजरायल डिफेन्स फोर्सेसले पुष्टि गरेको छ ।

अहिलेको द्वन्द्वमा यस्तो हतियार उपयोग गरिएको यो पहिलो घटना हो ।

क्लस्टर बमले ससाना बमहरूलाई व्यापक दायरामा फ्याँक्छ । ती बमहरू एकैपटक विस्फोट हुँदैनन् । ठूलो बम आकाशमै खुल्छ र जमीनमा लक्षित क्षेत्रमा साना बमहरू छर्छ ।

इरानले बिहीवार गरेको आक्रमणमा क्षेप्यास्त्रको वारहेड जमीनबाट ७ किलोमिटर माथि विस्फोट भएको र इजरायलको मध्यभागमा ८ किलोमिटर व्यासको क्षेत्रमा २० वटा साना बम छोडेको इजरायली सेनाले जनाएको छ ।

यी साना बमहरूलाई टाढाबाट निर्देशित गरिँदैन र यी आफैं पड्किँदैनन् । तिनीहरू भुइँमा त्यत्तिकै खस्छन् र कुनै वस्तुसँग ठोकिएपछि मात्र विस्फोट हुन्छन् ।

यसरी नपड्किइकन बस्ने र पछि कुनै बेलामा पड्किन सक्ने भएकाले यी बमलाई खतरनाक मानिन्छ । सर्वसाधारणले यिनको बारेमा थाहा नपाएर चलाउँदा विस्फोट हुने सम्भावना भएकाले यिनको जोखिम बढेको हो ।

बिहीवार इरानले फ्याँकेको क्लस्टर बममध्येको एउटा बम इजरायलको आजोर शहरमा रहेको घरमा पड्केर क्षति पुर्‍याएको द टाइम्स अफ इजरायलले खबर दिएको छ । यसले गरेको हताहतीको विवरण आएको छैन ।

इजरायली होम फ्रन्टले सार्वजनिक सूचना जारी गर्दै आजोर निवासीहरूलाई सतर्क हुन भनेको छ । कुनै पनि बेवारिसे वस्तु नचलाउन उसले आग्रह गरेको छ ।

सन् २००८ मा पारित भएको क्लस्टर म्युनिशन्स सम्बन्धी महासन्धिले क्लस्टर बमको उपयोग, भण्डारण, ढुवानी र उत्पादनमा प्रतिबन्ध लगाएको छ । त्यस महासन्धिमा १११ वटा मुलुकले हस्ताक्षर गरेका छन् । तर इरान, इजरायल, रुस र अमेरिकाले यस महासन्धिमा हस्ताक्षर गरेका छैनन् ।