एउटा फोन कलका कारण थाई प्रधानमन्त्रीको पद धरापमा !

658
Shares


थाइल्यान्डकी प्रधानमन्त्री पेतोङतार्न शिनावात्राले कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको फोनवार्ता सार्वजनिक भएपछि थाई जनतासँग माफी मागेका छन् ।

लीक गरिएको कलमा पेतोङतार्नले हुन सेनसँग दुई देशबीचको सीमाविवादका बारेमा कुरा गरेकी थिइन् । शिनावात्रा परिवारसँग हुन सेनको मैत्रीपूर्ण सम्बन्ध छ । पेतोङतार्न पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन् ।

फोनवार्तामा उनले थाइल्यान्डका एक शीर्ष सैन्य कमान्डरको आलोचना गरेको सुनिन्छ । ती सैन्य अधिकृत आफ्‌नो विपक्षी भएको र तिनले आफूलाई कठोर देखाउन खोजेको उनले हुन सेनलाई बताइन् ।

हुन सेनलाई अंकल सम्बोधन गर्दै ‘केही कुरा चाहिएमा मलाई भने हुन्छ, म मिलाइदिन्छु’ भनेको सुनिन्छ ।

बिहीवार प्रेससँग कुरा गर्र्दै पेतोङतार्नले कम्बोडियाली नेतासँगको वार्ताको अडियो लीक भएपछि थाई जनतामा आक्रोश फैलिएको स्वीकार गर्दै माफी मागिन् ।

हुन सेनले लगभग चार दशकसम्म कम्बोडियामा शासन चलाएका थिए । सन् २०२३ देखि उनका छोरा हुन मानेत प्रधानमन्त्री छन् ।

थाइल्यान्डको विदेश मन्त्रालयले बिहीवार कम्बोडियाका राजदूतलाई बोलाएर फोन कल लीक भएको विषयमा विरोधपत्र बुझाएको छ । कलको एक अंश लीक भएपछि हुन सेनले पूरा कल रेकर्ड सार्वजनिक गरेका थिए ।

यस विवादास्पद फोन कलले पेतोङतार्नको सरकारलाई अप्ठ्यारोमा पारेको छ । उनको परिवार र थाइल्यान्डको सेनाबीच पहिलेदेखि नै तनाव रहेकोमा अहिले सैन्य अधिकृतको आलोचना गर्दा त्यसले थप समस्या निम्त्याउन सक्ने देखिन्छ ।

सत्तारूढ गठबन्धनको दोस्रो ठूलो दल भुमजाइथाई सरकारबाट बाहिरिएको छ । यसले गर्दा पेतोङतार्न सरकारसँग झिनो बहुमत मात्र रहेको छ । अन्य तीन दलहरूले बिहीवार आकस्मिक वार्ता गरेका छन् तर सरकारबाट हटेका छैनन् ।

अर्को कुनै दल सरकारबाट बाहिरिएमा पेतोङतार्न सरकार अल्पमतमा पर्नेछ । त्यसपछि कि त निर्वाचन गर्नुपर्ने हुन्छ वा अन्य दलहरूसँग मिलेर गठबन्धन बनाउनुपर्नेछ ।

विपक्षी दल पिपुल्स पार्टीका नेता नत्थाफोङ र्‍वेङपान्यावुतले पेतोङतार्नलाई संसद् विघटन गर्न आह्‌वान गरेका छन् । त्यसो गर्दा मात्र सैन्य कू हुनबाट जोगाउन सकिने उनको भनाइ छ ।

थाइल्यान्डमा सन् १९३२ मा कार्यकारी राजतन्त्र अन्त्य भएपछि १२ पटक सैन्य कू भइसकेको छ । विगत दुई दशकमा सेना र शिनावात्रा परिवारबीच द्वन्द्व चलिरहेको छ । पेतोङतार्नका पिता थाक्सिनलाई सन् २००६ मा सेनाले कू गरेर हटाएको थियो भने फुपू यिङलकलाई सन् २०१४ को कूपछि अदालतको फैसला अनुसार हटाइएको थियो ।