उत्तर कोरियाले परीक्षणका क्रममा गर्‍यो १० वटा रकेट प्रहार

1.5k
Shares


तस्बिर : योन्हाप न्युज एजेन्सी

उत्तर कोरियाले बिहीवार बिहान राजधानी प्योङयाङ नजिकको सुनाबाट १० वटा मल्टिपल लन्च्ड रकेटहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

ती रकेटहरू उत्तरपश्चिम दिशामा रहेको पीत सागरतर्फ प्रहार गरिएका हुन् । दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकृतहरूले उत्तर कोरियाको पछिल्लो हतियार परीक्षणको विश्लेषण गरिरहेका छन् ।

दक्षिण कोरियाले अमेरिका र जापानसँग संयुक्त वायुसेना अभ्यास गरेको भोलिपल्ट उत्तर कोरियाले रकेट परीक्षण गरेको हो ।

उत्तरको २४० एमएम मल्टिपल रकेट लन्चरले दक्षिण कोरियाको राजधानी सौल र त्यस वरपरको क्षेत्रलाई तारो बनाउन सक्छ । पोहोर साल उत्तर कोरियाले नयाँ निर्देशन प्रणालीयुक्त मल्टिपल रकेट लन्चरको परीक्षण गरेको थियो ।

उत्तर कोरियाको सेनाले छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र उपयोग गर्ने गरेको दक्षिण कोरियाली सेनाले जनएको छ । उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बलिस्टिक क्षेप्यास्त्र परीक्षणमा प्रतिबन्ध लगाएको छ ।