
इजरायलको प्रतिरक्षात्मक प्रणाली एरो इन्टरसेप्टर सकिँदै गएको द वाल स्ट्रीट जर्नलले खबर दिएको छ।
त्यो प्रणाली सकिन थालेकाले इरानबाट प्रहार भइरहेको लामो दूरीको बलिस्टिक क्षेप्यास्त्रहरूलाई इजरायलले रोक्न नसकेको नाम नखुलाइएका अमेरिकी अधिकारीले द वाल स्ट्रीट जर्नललाई बताए ।
गत शुक्रवारदेखि द्वन्द्व चर्किएकोपछि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पश्चिम एसियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू पठाएको पनि उक्त पत्रिकाले लेखेको छ । तर, अमेरिकाकै प्रतिरक्षा प्रणाली पनि सकिन थालेको छ ।
सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेशनल स्टडीजमा मिसाइल डिफेन्स प्रोजेक्टका निर्देशकले अमेरिका वा इजरायल दिनभर क्षेप्यास्त्रलाई रोकेर बसिरहन नसक्ने बताए । उनीहरूले वैकल्पिक उपाय पनि सोच्नुपर्ने निर्देशकको भनाइ छ ।
एरो इन्टरसेप्टर बनाउने इजरायल एयरोस्पेस इन्डस्ट्रीजले यस विषयमा कुनै टिप्पणी गरेको छैन । तर, आफूहरू सबै किसिमको परिस्थितिको सामना गर्न तयार रहेको इजरायल डिफेन्स फोर्सेसले दाबी गरेको छ।
एरो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा एरो–२ र एरो–३ रहेका छन् । यसले वायुमण्डल भन्दा बाहिरबाट आएका बलिस्टिक क्षेप्यास्त्रहरूलाई पनि निस्तेज बनाउने क्षमता राख्दछ । यससँग भएको खुस्काउन मिल्ने वारहेड शत्रुको क्षेप्यास्त्रसँग ठोकिन्छ र त्यो क्षेप्यास्त्र घना बस्तीमा पुग्नुअघि नै त्यसलाई ध्वस्त बनाइदिन्छ ।








प्रतिक्रिया