
काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य र नगर सभा सदस्यहरुले निरन्तर दबाब दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्न तयार भएका छन् ।
तर, समितिका सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबिना नै बैठक राख्ने गरी मेयर साहले प्रशासनलाई प्रस्ताव तयार गर्न लगाएको महानगर स्रोतको दाबी छ ।
स्थानीय तहले असार १० सम्ममा बजेट पेश गर्नुपर्ने कानुनी वाध्यता छ भने असार मसान्तासम्म पारित गरिसक्नुपर्ने उल्लेख छ । तर, मेयर साह संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि बजेट नै अन्योलमा परेको थियो । कार्यपालिका र नगर सभा मात्रै होइन स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत छल्दै आएका मेयर साहले समितिका सदस्य सचिव गुरागाईँबिना नै बैठक राख्ने कसरत गरेपछि उक्त बैठक पनि अन्योलमा पर्ने निश्चित भएको छ ।
स्रोतका अनुसार बालेनले असार ४ गते ११ बजे बैठक बोलाएका छन् । तर, सदस्य सचिव अनिवार्य हुनुपर्ने बैठकमा उनलाई नै ‘बाइपास’ गरेपछि बैठक अन्योल बन्ने महानगर स्रोतको दाबी छ ।
समिति सदस्यमा उपप्रमुख डंगोलसँगै कार्यपालिका सदस्यहरु नविन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की डोली, रहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक करीब ७ महिनादेखि बस्न सकेको छैन ।
नगरसभाको बैठक पनि ६ महिनामा अनिवार्य बस्नुपर्ने हुन्छ । अझ बजेटको सम्मुखमा नगरसभा बैठक बस्नै पर्ने बाध्यता छ । तर, मेयर साहले भने कार्यपालिका र नगर सभा दुबै बैठक छल्दै हिँडेपछि महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायतका कामहरुमा पनि अन्योलता देखिँदै आएको छ ।
पछिल्लो ममय काठमाडौं महानगरमा मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको द्वन्द्वका कारण समस्या देखिएको छ ।
कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान ऐनमा छ । नगर प्रमुखले सभा र कार्यपालिका बैठकमा कार्यसूची पेस गर्नुपर्ने छ भने कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत पदेन सदस्य हुने व्यवस्था छ।
नगर प्रमुखले कार्यपालिका बैठक आह्वान भएको सूचना अन्य सदस्यको हकमा प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्ने र प्रमुख प्रशासकीय अधिकृतले बैठक आह्वान भएको सूचना कार्यपालिका सदस्यलाई दिने व्यवस्था छ । तर, बालेन त्यो चाहँदैनन्।
काठमाडौं टावरको नक्सा पासका विषयमा बालेन र गुरागाईंबीच समस्या देखिएको छ । बालेनले गुरागाईंलाई कारबाही गर्दै संघीय सरकारसँग नयाँ प्रशासकीय अधिकृत माग गरेको थियो तर पठाएन र उनैलाई हाजिर गराउन पत्र काट्यो ।
त्यसपछि गुरागाईँ महानगरमा हाजिर गर्न पुगे । लामो समयको तलब रोकिएपछि उनलाई कार्यालयमा स्वागत गर्न उपमेयर सुनिता डंगोलसहित अधिकांश वडा अध्यक्षहरु र कर्मचारी लागेका थिए । त्यसयता गुरागाईंले काम गरिरहे पनि बालेनसँग औपचारिक छलफल हुन सकेको छैन ।








प्रतिक्रिया