
बेलायती वैज्ञानिकहरूले विश्वमा बढिरहेको तापक्रम रोक्नका लागि सूर्यलाई धमिलो बनाउने योजनामा काम गरिरहेका छन् ।
अत्यधिक प्रदूषणका कारण तापमान वृद्धि र जलवायु परिवर्तन भइरहेकाले त्यसलाई घटाउने उपायस्वरूप सूर्यको प्रकाशलाई धमिलो बनाउन खोजिएको हो ।
त्यसका लागि वायुमण्डलमा एयरोसोलयुक्त कणहरू छोडिनेछन् र तिनले सूर्यको ऊर्जाको केही भागलाई पृथ्वीमा आउनबाट रोक्नेछन् । त्यस अवस्थामा पृथ्वी शीतल हुने बताइएको छ ।
बादललाई थप उज्यालो बनाएर सूर्यको किरण उसैतिर फर्काइने अर्को तरिका हो । तर यसो गर्दा मौसम प्रणालीमा अवरोध आउने र खाद्य उत्पादन हुने क्षेत्रमा वर्षा नभइदिने समस्या आउन सक्छ ।
यी परीक्षणहरूलाई एड्भान्स्ड रिसर्च यान्ड इन्भेन्शन एजेन्सी एरिआले लगानी गर्नेछ । आगामी चार वर्षमा यसका लागि ८० करोड पाउन्ड खर्च गरिने दी इन्डिपेन्डेन्ट पत्रिकाले खबर दिएको छ ।
यस क्रममा विषाक्त पदार्थहरू उपयोग नगरिने र वातावरणमा परीक्षण गर्नुअघि प्रभाव मूल्यांकन गरिने एवं परीक्षण क्षेत्रका समुदायसँग परामर्श गरिने वैज्ञानिकहरूको भनाइ छ ।
तर विश्व तापक्रम घटाउनका लागि जीवाष्म इन्धनको खपत घटाउनुपर्ने र अत्यधिक ग्रीनहाउस ग्यासहरू उत्पादन गर्न नहुने बेलायती वैज्ञानिकहरू बताउँछन् । त्यसो गरेको खण्डमा मात्र सूर्यको प्रकाश धमिलो बनाउने परीक्षणले सफलता पाउने उनीहरूको भनाइ छ ।








प्रतिक्रिया