
एजेन्सी । स्क्यान्डिनेभियन एयरलाइन्सकी एयर होस्टेसले अन्तर्राष्ट्रिय उडानका क्रममा ७८ वर्षीया महिलामाथि तात्तातो कफी खन्याएपछि अमेरिकाको एक जोडीले १ करोड डलर बराबरको क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ ।
त्यसरी कफी पोखिँदा महिलाको छाला डढेको र उनले बिदाको रमाइलो गर्न नपाएको बताइएको न्युयोर्क पोस्टले खबर दिएको छ ।
घटना सन् २०२४ को अप्रिल ३ मा भएको हो । विमान डेनमार्कको राजधानी कोपनहेगनबाट नर्वेको राजधानी ओस्लोतर्फ गइरहेको बेलामा घटना भएको हो ।
आयमारा कोर्बो र उनका श्रीमान् जोसेप्पे ब्रिटिश आयल्स जानका लागि उड्दै गर्दा बिहान लगभग १० बजेतिर विमान परिचारिकाले भूलवश अनायासै अत्यधिक तातो कफी आयमाराको काखमा पोखेकी थिइन् ।
कफी पोखिएकाले आयमाराको छाला डढ्नुका साथै असह्य पीडा भएको अनि छालामा दाग बसेको अदालतमा पेश गरेको निवेदनमा उल्लेख गरिएको छ । धेरै पीडा भएकाले आयमाराले यात्राको बाँकी अवधि कोठाभित्रै बस्नपरेको थियो ।
सेवानिवृत्त जीवन बिताइरहेका जोडी लामो समयदेखि क्वीन्समा बसिरहेका थिए । उनीहरुले एयरलाइनबाट राम्रो सेवा नपाएको भन्दै आयमाराको घाउचोट भावनात्मक तनाव र बिदा भताभुग भएको भन्दै १ करोड क्षतिपूर्ति दाबी गरेका हुन् ।
जोसेप्पे कोर्बोले पनि १० लाख डलर बराबरको क्षतिपूर्ति मागेका छन् । उनका वकिल जोनाथन रेटरका अनुसार जोडीको दुइहप्ते क्रुज यात्रा नरमाइलो भएको थियो ।
स्क्यान्डिनेभियन एयरलाइन्सले यस विषयमा विज्ञप्ति ननिकालेको र टिप्पणी गर्न पनि नमानेको न्युयोर्क पोस्ट लेख्छ ।








प्रतिक्रिया