कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट, ४७ प्रतिशत खर्च विकास निर्माणलाई


काठमाडौं । कोशी सरकारले ३५ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार सार्वजनिक कोशी प्रदेशको उक्त बजेट अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको उक्त बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ अर्थात ५२ प्रतिशत बजेट छुट्याइएको छ । पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ अर्थात ४७‍.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ अर्थात ०.३ प्रतिशत रहेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी हो ।

कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ७० करोड ७२ लाख रुपैयाँ रहेको कोशी प्रदेश सभामा आइतबार प्रस्तुत बजेटमा उल्लेख छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ रहेको छ।

सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख रुपैयाँ, समपुरक अनुदानबाट ३९ करोड १७ लाख रुपैयाँ, विशेष अनुदानबाट ५५ करोड ७२ लाख रुपैयाँ गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ७४ करोड ९९ लाख रुपैयाँ र रोयल्टीबाट प्राप्त हुने रकमबाट ३५ करोड ६ लाख रुपैयाँ खर्च व्यहोरिनेछ । बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब १३ करोड ब्यहोरिने पनि कोशी प्रदेशको बजेटमा उल्लेख छ ।