अमेरिकाको लस एन्जलसमा भएको दंगामा जलाइयो गूगलका स्वचालित कारहरू

1.5k
Shares

अमेरिकाको लस एन्जेलस शहरमा आप्रवासीहरूमाथिको धरपकडको विरोधमा भइरहेको हिंस्रक प्रदर्शनका क्रममा गूगलका स्वचालित कारहरू जलाइएको छ ।

आइतवार प्रदर्शन हिंस्रक बन्दै जाँदा प्रदर्शनकारीहरूले गूगलको वेमो कारमा आगजनी गरेका हुन् ।

लस एन्जेलस टाइम्समा प्रकाशित समाचार अनुसार, ट्रम्प प्रशासनले आप्रवासीहरूमाथिको धरपकड बढाएपछि त्यसको विरोधमा गरिएको प्रदर्शन अनियन्त्रित बनेको थियो । सुरुमा प्रदर्शन शान्तिपूर्ण नै थियो तर पछि गएर प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको थियो ।

त्यसैक्रममा प्रदर्शनकारीहरूको एक समूहले एलए स्ट्रीटमा पार्क गरेर राखिएका स्वचालित वेमो कारहरूको सिसा फुटाएका थिए, टायर काटिदिएका थिए र कतिपय विद्युतीय गाडीमा आगजनी गरेका थिए ।

दिनदहाडै भएको यो हिंस्रक घटनाले लस एन्जेलसवासीहरूलाई स्तब्ध बनाएको थियो । आगजनी गरिएका गाडीहरूबाट धूवाँको मुश्लो उठेसँगै अनायास हरन पनि बज्न थालेको थियो ।

उता प्रदर्शनकारीहरूले चर्को नारा लगाएका थिए र सुरक्षाकर्मीका हेलिकप्टर उनीहरूमाथि उडिरहेका थिए ।

राष्ट्रपति डोनल्ड ट्रम्पले लस एन्जेलसमा नेसनल गार्ड सुरक्षाकर्मीहरू तैनाथ गर्ने निर्णय लिएपछि विरोध प्रदर्शन चर्किएका हुन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिलाई बेवास्ता गर्दै ट्रम्पले नेसनल गार्ड तैनाथीको निर्णय लिएका हुन् ।

गभर्नरको स्वीकृति विना नै राष्ट्रपतिले यसरी नेसनल गार्ड तैनाथी गर्ने निर्णय अमेरिकी इतिहासमा दुर्लभै हुन्छ ।

अप्रावसन सम्बन्धी सरकारको नीतिका विरुद्ध भइरहेको प्रदर्शन रोक्नका लागि नेसनल गार्ड तैनाथ गरिएको भए पनि त्यसले प्रदर्शनकारीहरूलाई थप उत्तेजित बनाएको थियो ।

आइतवार नै लगभग ३०० संघीय सुरक्षाकर्मी लस एन्जेलस पुगेका थिए । त्यसले नागरिक स्वतन्त्रलाई हनन गरेको भनी धेरैले गुनासो गरेका थिए ।

गूगलको वेमो कार लस एन्जेलसमा सन् २०२४ को अन्त्यतिरबाट मात्र सञ्चालनमा आउन थालेको हो । तर त्यसको लोकप्रियता बढेपछि अहिले लस एन्जेलसका सडकहरूमा त्यस्ता गाडी बाक्लै गरी गुड्ने गरेका छन् ।

वेमो कम्पनीका प्रवक्ताले आफूहरूको गाडीमा आक्रमण भएपछि स्थानीय प्रहरीलाई सम्पर्क गरेको बताए । भर्खर स्वचालित गाडीहरूको लोकप्रियता बढिरहेको बेलामा यसरी तोडफोढ र आगजनी हुँदा कम्पनीलाई धक्का लागेको बताइएको छ ।