साढे २४ अर्बको २३ हजार विद्युतीय सवारी आयात, बैशाखमा मात्रै ३ हजार ३७ वटा भित्रियो


काठमाडौं । चालु आर्थिक वर्षको नौं महिनाको अवधीमा २४ अर्ब ५५ करोड रुपैयाँबराबरको २३ हजार ९ सय ३३ वटा विद्युतीय सवारी साधन आयात भएको छ ।

बुधबार १० महिनाको तथ्याँक सार्वजनिक गर्दै भन्सार विभागले यस्तो जानकारी दिइएको हो । तथ्याँकअनुसार सबैभन्दा बढी ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मको विद्युतीय कार, जीप र भ्यान चीनबाट आयात भएको छ ।

चीनबाट ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताको ११ अर्ब ७७ करोड रुपैयाँबराबरको ४ हजार ५ सय ९७ वटा विद्युतीय कार, जीप र भ्यानसवारी साधन भित्रिएको छ ।

यस्तै ३ अर्ब ४० करोड ७५ लाख रुपैयाँबराबरको ५० किलोवाट क्षमताको १ हजार ९ सय विद्युतीय कार, जिप र भ्यान चीनबाट आयात भएको छ ।

चीनपछि सबैभन्दा बढी भारतबाट यस्ता गाडी आयात भएको छ । त्यस्तै १०१ किलोवाटदेखि २ सय किलोवाट क्षमताको २ अर्ब ७२ करोड ८५ लाख रुपैयाँबराबरको ८ सय ३४ वटा विद्युतीय सवारी साधन भित्रिएको छ ।

चैत महिनाको तुलनामा बैशाख महिनामा मात्रै ३ हजार ३७ वटा विद्युतीय सवारी साधन नेपालमा भित्रिएको हो । गत् चैतसम्ममा भने १९ अर्ब ९४ करोड १५ लाख रुपैयाँबराबरको २० हजार ८ सय ९६ वटा विद्युतीय सवारी साधन आयात भएको थियो ।

गत् चैत महिनाको तुलनामा बैशाखमा मात्रै ९ सय ७३ वटा ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताको विद्युतीय सवारी साधन भित्रिएको हो । यस्तै बैशाख महिनामा ५० किलोवाट क्षमताको ३५४ वटा विद्युतीय सवारी आयात भएको छ ।

यस्तै बैशाख महिनामा मात्रै १२४ वटा १०१ किलोवाटदेखि २ सय किलोवाट क्षमताको कार, जीप र भ्यान आयात भएको छ ।