पूर्वी सीमामा झोला र पोकामा कडाइ, तस्करीका सामान लिएर कन्टेनर छिर्दा सुरक्षाकर्मी बेखबर !

गृहमन्त्रीले व्यवसायीसँग मागेका थिए ६० दिन


सांकेतिक तस्बिर: एआई

विराटनगर । गृहमन्त्री रमेश लेखकले पूर्वमा तस्करी रोकेर सर्वसाधारणलाई अनुभूति दिलाउन प्रदेश र जिल्ला सुरक्षा प्रमुखलाई ३० दिनको भाखा दिएपछि सातादेखि कोशी प्रदेशका सीमावर्ती नाकाबाट छिर्ने झोला र पोकामा सुरक्षा निकायको कडाइ बढ्दो छ ।

सुरक्षा निकायले सीमा क्षेत्रमा घरायसी प्रयोजन र दैनिक उपभोग्य वस्तु बोकेर छिर्ने सर्वसाधारणका झोला र पोकामा मात्र कडाइ गरेर करोडौं मूल्यका तस्करीका सामान बोकेका कन्टेनर छिर्दा आँखा चिम्लिएको घटनाले कोशी प्रदेशमा सुरक्षा निकायको मिलोमतोमा तस्करी मौलाएको उद्योगी व्यवसायीको आरोप पुष्टि भएको छ ।

तस्करीका लागि पूर्वमा ख्याती कमाएका प्रमुख जोगवनी, काँकरभिट्टा, पशुपतिनगर, भद्रपुर र भण्टावारी नाकाबाट घरायसी उपभोगका लागि सीमापारिका बजारबाट दैनिक उपभोग्य वस्तु किनेर ल्याउने सर्वसाधारणको झोला र पोकामा सुरक्षा निकायले निगरानी बढाउँदा सीमाबाट तस्करीका सामान बोकेका ट्रक र कन्टेनर नै छिरेको भने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले मेसो नै नपाएको पाइयो ।

कोशी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्न गत साता प्रदेश राजधानी विराटनगर आएका गृहमन्त्री लेखकलाई यहाँका उद्योगी व्यवसायीले सुरक्षा निकायको मिलोमतोमा तस्करी मौलाएको आरोप लगाउँदै तस्करीले सीमावर्ती बजार उजाड हुनुका साथै स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा उद्योग नै संकटमा परेको गुनासो गर्दै तस्करी नियन्त्रणका लागि हारगुहार गरेका थिए ।

विराटनगरका उद्योगी व्यवसायीले सीमावर्ती नाकाबाट नूनदेखि सुनसम्म तस्करी हुने गरेको आक्रोश पोखेपछि गृहमन्त्री लेखकले तस्करी नियन्त्रणका लागि उद्योगी व्यवसायीसँग ६० दिनको म्याद मागेका थिए ।

त्यसको भोलिपल्ट सबै सुरक्षा निकायका संगठन प्रमुख, प्रदेश र जिल्लाका सुरक्षा निकाय प्रमुख सहभागी रहेको सुरक्षा बैठकमा गृहमन्त्री लेखकले ३० दिनभित्र तस्करी रोकेर सर्वसाधारणलाई अनुभूति दिलाउन भाखा र निर्देशन दिँदै त्यस अवधिमा तस्करी नियन्त्रण नभए कारवाही गर्ने चेतावनी समेत दिन भ्याए ।

त्यसपछि सुरक्षाकर्मीको निगरानी नाकामा बढ्यो । सीमापारिबाट घरायसी प्रयोजनका लागि र दैनिक उपभोग्य वस्तु लिएर आउने सर्वसाधारणको झोला–पोका छाम्न सुरक्षाकर्मी व्यस्त रहँदा तस्करीका सामान बोकेका ट्रक र कन्टेनर नै नाकाबाट छिरेको भेउ नै पाएनन् । वा भेउ पाउँदा पनि मिलेमतोमा पक्राउ गर्न चाहेनन्, त्यो अनुसन्धानको पाटो रह्यो ।

यसको पछिल्लो उदाहरण काँकरभिट्टा नाका हो । गत आइतवार साँझ पूर्वको चर्चित नाका काँकरभिट्टामा भारतको पानीट्यांकीबाट दैनिक उपभोग्य वस्तु र घरायसी प्रयोजनका सामान बोकेर आउँदै गरेका सर्वसाधारणका झोला र पोका छामछुम गर्न त्यहाँ खटिएका सुरक्षाकर्मी व्यस्त थिए । तर त्यसै बेला तिनै झोला र पोका छिर्दै गरेको सडकबाट साढे तीन करोड मूल्य बराबरका तस्करीका सामान बोकेका तीनवटा कन्टेनर भित्रिएर भन्सार नै नतिरी करिब २० किलोमिटर पश्चिमको विर्तामोड बजार पुग्दा ती सुरक्षाकर्मीले भेउ नै पाएनन् ।

एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ ७४८६ नम्बरको कन्टेनर सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले आँखा चिम्लिएपछि मेची भन्सार परिसरमा छिर्दै नछिरी २० किलोमिटर पश्चिमको विर्तामोड बजार आइपुगे ।

त्यहाँ जिल्ला प्रहरी कार्यालय झापाको टोलीले ती कन्टेनरलाई नियन्त्रणमा लियो । ती तीनवटा कन्टेनरबाट प्रहरीले ३ करोड ६१ लाख मूल्य पर्ने कृषि औजार बरामद गरेर अनुसन्धानका लागि राजस्व अनुसन्धान इटहरी इकाईलाई बुझायो ।

सुरक्षाका नाममा काँकरभिट्टा नाका संवेदनशील मानिन्छ । त्यसैले त्यहाँ पैदल यात्री होस् वा सिटी सवारी चढेर भारतको पानीट्यांकीबाट नेपाल आउने जो कोही यात्रुको सुरक्षा चेकजाँच गर्न काँकरभिट्टा भन्सार परिसरमा तालिम प्राप्त कुकुरसहित सशस्त्र, जनपद प्रहरी र मेची भन्सारका कर्मचारी तैनाथ रहन्छन् ।

त्यहाँबाट अलिकति पश्चिम आएपछि इलाका प्रहरी कार्यालय छ । त्यसपछि पश्चिम लागेपछि जोरसिमल भन्ने ठाउँमा अवैध सामानको चेकजाँच गर्ने सशस्त्र प्रहरीको टोलीको व्यवस्था छ । त्योभन्दा पनि पश्चिम लागेपछि धुलावारी र चारआलीमा चोकैपिच्छे प्रहरीका बिट अहोरात्र तैनाथ छन् ।

काँकरभिट्टा नाकाबाट भन्सार नै नतिरी निर्वाध रूपमा छिरेका ती तीनवटा कन्टेनर २० किलोमिटर पश्चिम विर्तामोडमा मात्र सुरक्षा निकायको नजरमा परे । त्यो पनि करिब २० किलोमिटर दक्षिणमा रहेको जिल्लाको सदरमुकाम चन्द्रगढीमा रहेको जिल्ला प्रहरी कार्यालय झापाको टोली परिचालित हुनुले तस्करीमा सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मिलोमतो रहेको स्वतः पुष्टि हुन्छ ।

गृहमन्त्रीको निर्देशनपछि सीमा नाकामा सुरक्षाकर्मीको निगरानी बढेको छ । जोगवनी क्षेत्रका एक कारोबारीले भने सुरक्षाकर्मीले दिनभरि सर्वसाधारणका झोला र पोका छामछाम गर्छन्, तर रातभरि तस्करीका सामान बोकेका ट्रक र ठेलागाडी गन्तव्यमा पुगेको भेउ नै पाउँदैन ।

पूर्वका प्रमुख नाका जोगवनी र काँकरभिट्टाबाट दिनभरि सर्वसाधारणका झोला–पोका मात्र नियन्त्रण भइरहेको छ । ती कारोबारीले भने रातभरि सुरक्षा निकायकै सेटिङमा तस्करीका ट्रक गन्तव्यमा पुग्दै आएका छन् ।

‘जोगवनी र सिलिगुडीमा सामान किनेर छोड्नुस्, भोलिपल्ट क्यारिङवालाले तपाईँको घर र गोदाममा सामान सजिलै पुर्याइदिन्छन्,’ ती कारोबारीले भने, ‘त्यो सब प्रहरीको सेटिङ बिना सम्भव छैन । दिनभरि नाकामा सुरक्षा निकाय कडाइ गर्छ, रातभरि तस्कर तिनै नाकाबाट रजगज गर्छन् ।’

प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्की तस्करी नियन्त्रण हुँदै गएको दावी गर्छन् । झापा घटना बेग्लै प्रकृतिको भएको उल्लेख गर्दै उनले भने, ‘त्यसबाहेक हरेक जिल्लाका सीमावर्ती नाकाबाट हुँदै आएको अवैध कारोबार नियन्त्रणमा आएका छन् ।’

‘झापाको काँकरभिट्टा घटनाबारे अनुसन्धान भइरहेको छ,’ कार्कीले भने, ‘त्यसयता तस्करी र अवैध कारोबार नियन्त्रणका लागि प्रहरी सक्रिय हुँदै आएको छ । नाकामा सुरक्षा निकायको कडाइसँगै सीमावर्ती बजारमा पनि चलपल बढ्न थालेको छ । तस्करी अब शून्यमा झर्छ ।’