
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकहरुको नाफा १.४० प्रतिशतले बढेको भए पनि स्वपुँजीमा प्रतिफल (आरओई) भने घटेको छ ।
आरओई भनेको लगानीकर्ताको कुल लगानी माथि बैंकले दिने प्रतिफल हो । त्यस्तो प्रतिफल एक वर्षको तुलनामा घटेको हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्म बैंकहरुको औषत आरओई ८.३२ प्रतिशत थियो । जुन चालु आवको सोही अवधिमा ७.७३ प्रतिशत कायम भएको तथ्यांकले देखाएको छ ।
यसको अर्थ वाणिज्य बैंकहरुको सेयरधनीले गत वर्षको चैत मसान्तसम्म पाएका कुल पुँजीको प्रतिफलमा ०.५९ प्रतिशत कमी आएको छ । चैत मसान्तसम्म ८ वटा बैंकको आरओई बढेको छ भने बाँकी १२ बैंकको घटेको छ ।
चैत मसान्तसम्म सबैभन्दा बढी आरओई एभरेष्ट बैंकको १५.८२ प्रतिशत छ । सबैभन्दा कम एनआईसी एशिया बैंकको १ प्रतिशतभन्दा कम अर्थात ०.७१ प्रतिशत छ । दोहोरो अंकमा आरओई हुने ६ वटा बैंक मात्रै रहेका छन् । बाँकी बैंकको १० प्रतिशतभन्दा कम छ ।
आरओई बढेका बैंकमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र नेपाल बैंकको आरओई बढेको छ ।
आरओई घटने बैंकमा प्राइम कमर्शियल, स्टयान्डर्ड चार्टर्ड, हिमालयन, प्रभु, लक्ष्मी सनराइज, कृषि विकास, नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स, सिद्धार्थ, कुमारी र एनआईसी एशिया बैंक रहेका छन् ।
नबिल बैंकको आरओई ०.२४ प्रतिशतले बढेर ११.३ प्रतिशत, ग्लोबल आइएमई बैंकको १.९६ प्रतिशत बिन्दुले बढेर ९.४८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २.०४ प्रतिशत बिन्दुले बढेर ९.६७ प्रतिशत, एभरेष्ट बैंकको २.७८ प्रतिशत बिन्दुले बढेर १५.८२ प्रतिशत, एनएमबि बैंकको ०.०२ प्रतिशत बिन्दुले बढेर १०.४५ प्रतिशत, सानिमा बैंकको ०.५ प्रतिशत बिन्दुले बढेर १०.३५ प्रतिशत, माछापुच्छ्रे बैंकको १.४४ प्रतिशत बिन्दुले बढेर ८.३४ प्रतिशत र नेपाल बैंकको ९.५६ प्रतिशत बिन्दुले बढेर १०.०४ प्रतिशत पुगेको छ ।
यस्तै चैत मसान्तसम्म प्राइम कमर्शियल बैंकको आरओई २.९५ प्रतिशत बिन्दुले घटेर ७.२१ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको २.२ प्रतिशत बिन्दुले घटेर १४.०३ प्रतिशत, हिमालयन बैंकको ५.७ प्रतिशत बिन्दुले घटेर १.८१ प्रतिशत, प्रभु बैंकको ०.०१ प्रतिशत बिन्दुले घटेर ७.४३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ०.२४ प्रतिशत बिन्दुले घटेर ५.२८ प्रतिशत, कृषि विकास बैंकको २.४७ प्रतिशत बिन्दुले घटेर ६.८८ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.२७ प्रतिशत बिन्दुले घटेर ८.१४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.०४ प्रतिशत बिन्दुले घटेर ३.२ प्रतिशत, सिटिजन्स बैंकको १.७९ प्रतिशत बिन्दुले घटेर ५.८ प्रतिशत, सिद्धार्थ बैंकको ०.९९ प्रतिशत बिन्दुले घटेर ७.८१ प्रतिशत, कुमारी बैंकको २.८४ प्रतिशत बिन्दुले घटेर १.०८ प्रतिशत र एनआईसी एशिया बैंकको ७.८८ प्रतिशतले घटेर ०.७१ प्रतिशत रहेको छ ।
के हो आरओई ?
सेयरधनीहरुले बैंकमा गरेको कुल पुँजी वापतको प्रतिफललाई रिटर्न अन इक्विटी (आरओई) भनिन्छ । लगानीकर्ताको लगानीमा जगेडा कोष र चुक्ता पुँजी समेत समावेश गरिएको हुन्छ ।
सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्बमाथि छ । कुनै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको वाणिज्य बैंकको २ अर्ब रिजर्भमा हुँदा त्यसको कुल पुँजी १० अर्बको हुन्छ ।
यदि त्यो बैकले २ अर्ब रुपैयाँ नाफा कमाएमा त्यसको आरओई २ भाग १० गर्दा २० प्रतिशत बैंकको आरओई हुन्छ । चालु आवको चैत मसान्तसम्म २० वाणिज्य बैंकको आरओई ७.७३ प्रतिशत छ ।
यसरी हेर्दा कुनै एक बैंकमा लगानीकर्ताको कुल १०० रुपैयाँ पुँजी परेको छ भने चैत मसान्तसम्मको नाफाबाट ७ रुपैयाँ ७३ पैसा लगानीको प्रतिफल पाएको बुझिन्छ । जुन गत आवको सोही अवधिमा १०० रुपैयाँ स्वपुँजी वापत ८ रुपैयाँ ३२ पैसा प्रतिफल थियो।








प्रतिक्रिया